विराटनगर । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २१ अर्ब ७९ करोड २५ लाख ८६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
यो लक्ष्यको तुलनामा १० दशमलव ८० प्रतिशतले कमी हो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा कार्यालयले २४ अर्ब ४३ करोड ३२ लाख ९९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।
कार्यालयले सो अवधिमा गत आर्थिक वर्षभन्दा ३ अर्ब ७५ करोड ९९ लाख ७३ हजार रुपैयाँ बढी राजस्व सङ्कलन भएको कार्यालयका प्रवक्ता रामचन्द्र ढुङ्गानाले जानकारी दिए ।
गत आर्थिक वर्षको पहिलो ६ महिनामा कार्यालयले २३ अर्ब छ करोड ८३ लाख ६६ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा १८ अर्ब ३ करोड २६ लाख २१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सङ्कलित राजस्वमा भन्सार महसुल आयाततर्फ ७ अर्ब ९६ करोड ७१ लाख ३२ हजार रुपैयाँ, मूल्य अभिवृद्धिकरतर्फ १० अर्ब ९४ करोड २७ लाख १७ हजार रुपैयाँ, अन्तःशुल्कतर्फ १ अर्ब ४८ करोड ५३ लाख १२ हजार रुपैयाँ, स्वास्थ्य जोखिम करतर्फ ३ हजार रुपैयाँ, भन्सार महसुल निर्याततर्फ ८४ लाख ३८ हजार रुपैयाँ, कृषि सुधार शुल्कतर्फ ४८ करोड ८५ लाख ३३ हजार, भन्सारसम्बन्धी अन्य आयतर्फ २ करोड ४७ लाख ७० हजार, सडक मर्मत तथा सुधार दस्तुरतर्फ ९ करोड ३२ लाख, सडक निर्माण तथा सम्भार दस्तुरतर्फ ३२ करोड ८ लाख ४४ हजार, पूर्वाधार करतर्फ २३ करोड ३० लाख र अन्य रु २२ करोड ८६ लाख ३६ हजार छन् ।



