images
images

मेची भन्सारको राजस्व असुलीमा वृद्धि


  • 233
    SHARES
  • २०७८ माघ ५ गते बुधबार

    मेची भन्सारको राजस्व असुलीमा वृद्धि

    झापा । चालू आर्थिक वर्षको छ महिनामा मेची भन्सार कार्यालय काँकडभिट्टाले  ७ अर्ब ९८ करोड ६५ लाख ५९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को साउनदेखि पुस मसान्तसम्ममा  ७ अर्ब ३८ करोड ८६ लाख २४ हजार  रुपैयाँ लक्ष्य लिएकोमा कार्यालयका अनुसार १ सय ८ दशमलव नौ प्रतिशत राजस्व असुल्न सफल भएको हो । 

    पूर्वी नाकाबाट भित्रिने पेट्रोलियम पदार्थका कारण भन्सारको राजस्व असुलीमा समेत उल्लेख्य प्रगति भएको प्रमुख भन्सार अधिकृत केशवराज ओलीले बताए । मेची भन्सार कार्यालय काँकडभिट्टाको कूल राजस्वको ४० प्रतिशत बढी राजस्व पेट्रोलियम पदार्थले ओगटेको छ भने बाँकी ६० प्रतिशत अन्यले ओगटेको उनको भनाइ छ ।

    कार्यालयलाई भन्सार विभागले  १५ अर्ब ४५ करोड ४७ लाख ८७ हजार रुपैयाँ वार्षिक राजस्वको लक्ष्य दिइएको छ । उनले वार्षिक लक्ष्यको तुलनामा ६ महिनामा ५१ दशमलव ६८ प्रतिशत राजस्व असुली भएको जानकारी दिए ।

    साउनको मासिक लक्ष्य  ९२ करोड ५९ लाख ७२ हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य भए पनि १ अर्ब ३७ करोड १४ लाख ५३ हजार रुपैयाँ असुली भएको छ । जुन रकम लक्ष्यको तुलनामा राजस्व असुली ४८ दशमलव ११ प्रतिशत बढी हो ।

    भदौमा कार्यालयले  १ अर्ब २१ करोड ४५ लाख ५० हजार  रुपैयाँ राजस्व असुली गर्नुपर्ने लक्ष्य पाएकामा  १ अर्ब ३० करोड ७७ लाख ६४ हजार रुपैयाँ अर्थात् १ सय ७ दशमलव ६७ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

    असोजमा  १ अर्ब ३५ करोड ६४ लाख ५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको प्रमुख भन्सार अधिकृत ओलीले जानकारी दिए । असोजको लक्ष्य भने  १ अर्ब २४ करोड ७२ लाख ८१ हजार रुपैयाँ थियो । कात्तिक महिनाको लक्ष्य  १ अर्ब ३१ करोड ९७ लाख २७ हजार रुपैयाँ लक्ष्य लिए पनि  १ अर्ब १६ करोड ९३ लाख ६९ हजार १ सय १८ रुपैयाँ वा ८८ दशमलव ६१ प्रतिशत राजस्व असुली गरेको छ । 

    मङ्सिर महिनामा कार्यालयले  १ अर्ब ३२ करोड ७३ लाख १९ हजार रुपैयाँ लक्ष्य लिए पनि  १ अर्ब ४० करोड २३ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जनाइएको छ । पुस महिनामा  १ अर्ब ३५ करोड ३७ लाख ७५ हजार रुपैयाँ लक्ष्यमा  १ अर्ब ३७ करोड ९२ लाख ७ हजार रुपैयाँ अर्थात १ सय १ दशमलव ८८ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

    पूर्वी नाकाबाट आयात हुने कोइला, पेट्रोलियम पदार्थ, सिमेन्ट क्लिङ्कर, पेय पदार्थ, खाना पकाउने ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, हवाई स्प्रीड, सुती कपडा, रङ्गीन टेलिभिजन, ग्लेज टायल, लुब्रिकेटिङ, आयल मोबिल, मोटरका ब्याट्रीलगायतका सामाग्री रहेका छन् । 


    images
    images

    Logo