भक्तपुर । कोभिड संक्रमितको संख्या निरन्तर बढिरहँदा भक्तपुरमा आजदेखि बुस्टर डोज दिन सुरु गरिएको छ । भक्तपुर नगरपालिकामा आजदेखि कोभिडविरुद्धको बुस्टर डोज दिन सुरु गरेको छ ।
भक्तपुर नपाले पहिलो चरणमा बुस्टर डोज अग्रपंक्तिमा रहेर काम गर्ने सफाइ मजदुर, चालक, जनप्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारीहरुलाई खोप वितरण सुरु गरेको हो ।
सोही क्रममा नेमकिपा बागमती प्रदेश सांसदद्वय सुरेन्द्रराज गोसाइँ, सृजना सैंजु, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी तथा भक्तपुर नपाका वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यलगायतले पनि कोभिडविरुद्धको बुस्टर डोज खोप आज लगाएका हुन् ।
तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई मात्र बुस्टर डोज लगाइएको भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवालले बताए ।
साथै आजमात्र ६५ जना पुरुष र १६ जना महिला गरी जम्मा ८१ जनाले भेरोसेलको बुस्टर डोज खोप लगाएका छन् भने १ सय ३२ जना पुरुष र ६८ जना महिला गरी जम्मा २ सय जनाले कोभिसिल्ड बुस्टर डोज खोप लगाएका छन् । खोप लगाउनेहरुमा जनप्रतिनिधि ३१ जना, कर्मचारी २ सय ५० जना जसमध्ये सफाइ मजदुर ६३ जना, ड्राइभर ७ र पत्रकार ४ जना र बाँकी जनप्रतिनिधि र कर्मचारी रहेको उनले बताए ।
बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्ने र यसअघिको खोप कार्ड पनि अनिवार्य साथमा लानुपर्ने व्यवस्था गरेको थियो ।



