images
images

तेल किन्नका लागि ऋण लिनुपर्ने अवस्था आयो : आयल निगम


  • 592
    SHARES
  • २०७८ माघ ४ गते मंगलबार

    तेल किन्नका लागि ऋण लिनुपर्ने अवस्था आयो : आयल निगम

    काठमाडौं । नेपाल आयल निगमले तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको छ ।  निगमले एक विज्ञप्ति जारी गर्दै आफ्नो सञ्चित मुनाफा रित्तिए पछि तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको हो ।

    अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा यही महिनादेखि तेल किनेको रकम भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भएको जनाएको छ ।

    पुस मसान्तम्म निगम १९ अर्ब २६ करोड घाटामा गएको र माघ १ गते निगमलाई भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यपछि निगमको घाटा २१ अर्ब ५० करोड पुग्ने निगमको विज्ञप्तिमा उल्लेख छ । 

    ‘सञ्चित मुनाफा नरहेका कारण आगामी साता भारतीय आयल निगमलाई इन्धन खरिदका लागि तिर्नु पर्ने २ अर्ब रकम समेत अपुग भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आईओसीको २ अर्ब तिर्न ऋण लिनु पर्ने वा मूल्य स्थिरीकरण कोषको रकम चलाउनुपर्ने अवस्था सिर्जना भएको छ ।’

    अब, मूल्य समायोजन गर्दै जाँदा पनि मासिक ४ अर्ब नोक्सानीमा निगम पुग्ने देखिएको र देशभर पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाई राख्न करिब १२ अर्ब रुपैयाँ थप आवश्यक पर्ने निगमले जनाएको छ ।

    चालु आर्थिक वर्षको ६ महिनामा भारतीय आयल निगमबाट १२ पटक नयाँ मूल्य प्राप्त भएकोमा हरेक पटक बढेर मूल्य आएको तर निगमले जम्मा तीन पटक मूल्य समायोजन गरेको जनाएको छ ।


    images
    images

    Logo