काठमाडौं । सातवटै प्रदेश एकसाथ स्थापना भए पनि अहिलेसम्म प्रदेश १ ले भने नामकरण गर्न नसकेर एक्लिएको छ । सातमध्ये ६ वटा प्रदेशले प्रदेशको नामकरण भइसक्दा पनि प्रदेश १ भने अहिलेसम्म नाम पाउन सकेको छैन ।
छवटै प्रदेशको नामाकरण भइसक्दा पनि प्रदेश १ ले नाम नपाउदा पहिचानको मुद्दामा हार होला कि जीत ? ५ प्रदेशको पहिल्यै नामाकरण भइसके पनि प्रदेश २ को सोमबार मात्र नामाकरण भयो । त्यसपश्चात अहिलेसम्म नाम पाउन नसकेको प्रदेश १ को सरकारलाई दबाब बढेको छ । दलहरुको सहमति नहुँदा प्रदेश १ को नामकरण हुन सकेको छैन । प्रदेश १ को राजधानी विराटनगर कायम भए पनि नामकरणबारे दलहरुबीच मतैक्यता छैन । प्रदेशको नाम भूगोल, पहिचान कि सभ्यताको आधारमा राख्ने भन्नेबारे दलहरुबीच विवाद छ ।
पाँच वर्ष कार्यकाल भएको प्रदेशसभाले अबको बाँकी १३ महिनाभित्र नामकरणको विषय टुङ्ग्याउन नसके प्रदेशको नाम राख्न नसकेको असफलताको भारी बोक्नुपर्ने हुन्छ ।
हाल प्रदेश १ मा पाँच दलीय गठबन्धनको सरकार छ ।प्रदेश १ का तेस्रो मुख्यमन्त्री राजेन्द्र राई हुन् । यसअघिका दुई मुख्यमन्त्रीमध्ये शेरधन राईको पालामा प्रदेशको स्थायी राजधानीबारे टुङगो लागे पनि नामकरण हुन सकेन ।
दोस्रो मुख्यमन्त्री भीम आचार्यको कार्यकालमा प्रदेशको नामकरणसम्बन्धी विषय चर्चामा मात्र सीमित रह्यो । अब पाँच दलीय गठबन्धन सरकारको नेतृत्व गरेका मुख्यमन्त्री राजेन्द्र राईमाथि प्रदेशको नामकरणका लागि दबाब बढेको छ ।



