काठमाडौं । आयातनिर्यात कारोबारका हिसाबले देशकै मुख्य नाकामा रहेको वीरगञ्ज भन्सारले चालू आर्थिक वर्ष २०७८र७९ को पहिलो अर्ध वार्षिक अवधिमा १ खर्ब रुपैयाँभन्दा बढी राजस्व उठाएको छ ।
भन्सारले चालू आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिमा कुल १ खर्ब ५ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । ‘यो रकम अघिल्लो आर्थिक वर्ष २०७७र७८ को समीक्षा अवधिको तुलनामा ३२ अर्ब रुपैयाँ बढी हो,’ पौडेलले भने ।
वीरगञ्ज भन्सारले गत आर्थिक वर्षको पुससम्ममा राजस्वमा ७३ अर्ब ५५ करोड रुपैयाँ योगदान दिएको भन्सारको तथ्यांकमा देखिन्छ । गतवर्ष कोरोना महामारीका कारण अवरुद्ध भएको वैदेशिक व्यापार यो वर्ष ह्वात्तै बढेकाले चालू आर्थिक वर्षमा आयातसँगै राजस्व पनि उल्लेख्य बढेको पौडेलको भनाइ छ ।
चालू आर्थिक वर्षको ६ महीनाका लागि वीरगञ्ज भन्सारले १ खर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । यो अवधिमा भन्सारले उठाएको राजस्व लक्ष्यभन्दा ६ प्रतिशत बढी हो ।
यो वर्षको शुरुआतसँगै आयात उल्लेख्य बढेर विदेशी विनिमयमा दबाब देखिएको छ । विदेशी मुद्राको सञ्चिति घटेपछि सरकारले आयात निरुत्साहित गर्ने नीति लिएको छ । सरकारको यो नीतिको असर देखिन कम्तीमा २ महीना लाग्ने र त्यसपछि भने राजस्वमा कमी आउने अनुमान भन्सार अधिकारीहरूको छ । आर्थिक अभियान दैनिकबाट



