काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थमा लगाउँदै आएको मूल्य बढाएको छ । आइतबार आईओसीले नयाँ मूल्य पठाएको हो ।
नयाँ मूल्य अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १३.१८ रुपैयाँ, डिजेलमा ८.८१ र एलपी ग्यासमा प्रति सिलिन्डर ६४६.१६ रुपैयाँ नोक्सान रहेको छ । मट्टिेतेल र हवाई इन्धनमा भने निगमलाई नाफा छ । मट्टितेलमा प्रतिलिटर २०.५० र हवाई इन्धनमा १४.७३ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ ।
यो मूल्यका आधारमा मासिक ४ अर्ब ४८ करोड रुपैयाँ नोक्सान हुने अवस्था रहेको निगमले जनाएको छ । निगमले विगत ६ महिनामा मात्रै १९ अर्ब २६ करोड रुपैयाँनोक्सानी व्यहोरेको छ । अबको १५ दिनमा यस्तो नोक्सानी २१ अर्ब ५० करोड रुपैयाँ पुग्नसक्ने अनुमान गरिएको छ ।
निगमले नोक्सान व्यहोर्दै जाँदा यसअघि रहेको सञ्चित नाफा शुन्यमा झरेको भन्दै जनवरी २३ तारिखका दिन आईओसीलाई भुक्तानी गर्नुपर्ने रकम २ अर्ब अपुग हुने देखिएको निगमले जनाएको छ । ३ महिनाको आपूर्ति व्यवस्था सहज राख्न समेत निगमलाई १२ अर्ब रुपैयाँ आवश्यकता पर्ने निगमले जनाएको छ ।



