काठमाडौँ । कृषीजन्य सामाग्रीको आयात र बिक्री वितरणको जिम्मेवारी पाएको कृषि सामाग्री कम्पनी यतिबेला निकै अप्ठ्यारो अवस्थाबाट गुज्रिएको छ । रासायनिक मल खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुख्य पदमा रहेका ४ जना व्यक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि उनीहरु अहिले स्वत: निलम्बनमा छन् ।
यसरी निलम्बनमा पर्नेहरुमा प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णु पोखरेल, सहायक प्रबन्धक दुर्गा पाण्डे र उपप्रबन्धक पुष्करदीप बुढा छन् । उनीहरु विरुद्ध १ अर्ब ५३ करोड रुपैयाँ अनियमितता गरेको आरोप अख्तियारले लगाउँदै पुस १८ गते विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।
निलम्बित चारै जना मुख्य जिम्मेवारीमा रहेकाले अहिले आर्थिक कारोबारदेखि अन्य दैनिक काम ठप्पजस्तै भएको छ । यसै पनि मलको हाहाकार रहेको अहिलेको अवस्थामा मल आपूर्ति गर्ने कम्पनी नै नेतृत्वबिहिन भएपछि मल आपूर्तिमा झन् समस्या हुने भएको हो । टेन्डर गर्ने, मल ढुवानी गर्ने ठेकेदार कम्पनीलाई भुक्तानी गर्ने, विभिन्न देशबाट मल ल्याउनेलगायत सबै काम प्रभावित भएका छन् ।
४ जना प्रमुख पदका व्यक्तिहरु निलम्बित भएसँगै अहिले सो कम्पनीमा निमित्त प्रबन्ध सञ्चालकको जिम्मा दिने व्यक्ति समेत छैन । मुद्दाको अन्तिम किनारा लागेर दोषी वा निर्दोष नठहरिएसम्म निलम्बित प्रबन्ध सञ्चालक भण्डारीलाई हटाउने कानूनी व्यवस्था समेत छैन ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्मा कम्पनीमा प्रबन्ध सञ्चालक नियुक्ति गर्ने प्रक्रिया सुरु भइसकेको बताउँछन् । “कृषिमन्त्री महिन्द्रराय यादवले कम्पनीको प्रमुख अर्थात् प्रबन्ध सञ्चालक मन्त्रिपरिषद्बबाट नियुक्त गर्ने भन्नुभएको छ । उहाँले सायद त्यो पस्ताव त्यहाँ लैजानुभएको होला । जे भए पनि केही दिनमा यो विषय टुङ्गो लाग्छ,” सचिव शर्माले भने ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष शशिराज तुलाधरले कम्पनीको नियमावली संशोधन गरेर प्रमुख नियुक्तिका प्रक्रिया अघि बढाउने तयारी गरिएको जानकारी दिए । निलम्बित व्यक्तिको ठाउँमा अर्को व्यक्ति ल्याउन व्यवस्था अहिलेको कम्पनी नियमावलीमा नभएको भन्दै उनले बिहीबारदेखि नियमावली बनाउने काम सुरु भएको बताए । स्रोतका अनुसार अब सञ्चालक समितिको अध्यक्षलाई नै कार्यकारी बनाएर जिम्मेवारी दिने तयारी गरिएको छ ।



