काठमाडौँ । राष्ट्रिय अभिलेखालयले नारायणहिटी दरबार सङ्ग्रहालयको श्रीसदनका २ कोठामा रहेका पूर्वराजा वीरेन्द्र शाहको दस्तावेज सूचीकरण सुरु गरेको छ ।
अभिलेखालयबाट सेवा निवृत्त २ कर्मचारी र ३ जना बाहिरबाट करारमा नियुक्त गरी दस्तावेज सूचीकरण थालिएको हो ।
दस्तावेज सूचीकरणमा सङ्ग्रहालयका एक कर्मचारीको पनि सहभागिता छ । गत आर्थिक वर्षदेखि सूचीकरण सुरु गरिएको हो ।
अहिलेसम्म जन्मोत्सव, गद्दी आरोहण, पदक तथा विभूषणका १ हजार २ सय ७५ दस्तावेज भेटिएको अभिलेख अधिकृत रज्जु हाडाले राससलाई जानकारी दिए । श्रीसदन लामो समय पूर्वराजा वीरेन्द्रको निजी निवासका रुपमा रहेको थियो ।
उपचार, बिन्ती पत्र, भ्रमण, उत्सव, प्रतिवेदन र राजदूतावास सम्बन्धी २ हजार २ सय ६८ दस्तावेज सूचीकरण गरिएको छ । राजनीतिक गतिविधि, स्वर्गारोहण, गुठी जग्गासम्बन्धी, भर्पाइ, रसिदलगायत दस्तावेज १ हजार ३ सय ३ फेला परेको छ ।
कर्मचारीको दरबन्दी, राजीनामा, नियुक्ति, व्यक्तिगत विवरण र बैंक स्टेटमेन्टका १ हजार ८ सय ८७ दस्तावेज सूचीकृत गरिएको छ ।
२ कोठाका दस्तावेज अभिलेखीकरण गर्ने क्रममा नेपाली भाषाका ६ सय ५६ र अङ्ग्रेजी भाषाका ८ सय ६५ पुस्तक फेला परेका छन् । पुस्तक र दस्तावेजलाई ४ भागमा विभाजन गरी सूचीकरण गर्ने काम जारी छ ।
अभिलेखीकरण सकिएपछि नारायणहिटीमै सुरक्षित राखिने वा अभिलेखालयमा ल्याएर संरक्षण गरिने भन्ने विषयमा छलफल भइरहेको अभिलेख अधिकृत हाडाले बताए ।



