images
images

राजस्व छलेर भाग्न लागेका क्यासिनो सञ्चालकलाई विदेश जान रोक


  • 439
    SHARES
  • २०७८ माघ २ गते आइतबार

    राजस्व छलेर भाग्न लागेका क्यासिनो सञ्चालकलाई विदेश जान रोक

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालीका निमित्त प्रमुखकार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ ।

    क्यासिनो सञ्चालन गरेबापत उनले नेपाल सरकारलाई १३ करोड रुपैयाँ राजस्व तिर्नुपर्ने देखिए पनि हालसम्म नतिरी भाग्न लागेकाले मन्त्री आले र मन्त्रालयका सचिव महेश्वर न्यौपानेको निर्देशनमा गएराति १० बजे साउथ अमेरिका उड्न लागेका क्यासिनोका निमित्त सिइओ बोल्सोभरलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको बताइएको छ । 

    उनले ओसिपी एसियाको लगानीमा काठमाडौँको लाजिम्पाटस्थित साङ्ग्रिला होटल र भैरहवास्थित टाइगर प्यालेसमा सञ्चालित २ क्यासिनोको राजस्व तिरेका थिएनन् ।

    बोल्सोभरले सञ्चालन गरेका २ वटा क्यासिनोले प्रतिक्यासिनो  ५ करोड ५० लाख रुपैयाँका दरले २ क्यासिनोको  १३ करोड रुपैयाँ पुस मसान्तभित्र दाखिला गर्नुपर्नेमा अटेर गरी भाग्न लागेको थाहा पाएपछि रोक लगाइएको हो ।

    मन्त्री आलेको निर्देशन पछि सञ्चालनमा रहेका ८ क्यासिनो कम्पनीले कम्तीमा पनि  ४० करोड रुपैयाँ सरकारको खातामा राजस्व दाखिला गरिसकेका छन् भने एसएचएल म्यानेजमेन्ट प्राइभेट लिमिटेडले भने  १३ करोड रुपैयाँ राजस्व नबुझाएको बताइएको छ ।
     
    एसएचएल म्यानेजमेन्ट प्राइभेट लिमिटेडले तिलोत्तमा नगरपालिका–६ भैरहवामा २३ कठ्ठा सरकारी जग्गामा ५ तारे होटल गैरकानुनी ढङ्गले सञ्चालन गरेको आरोप छ । 

    सर्वोच्च अदालतलेसमेत उक्त कम्पनीलाई कुनै कारोबार नगर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशविपरीत क्यासिनो र होटल सञ्चालन गर्दै आएको उक्त कम्पनीका सिइओ बोल्सोभर राजस्व नबुझाएर मध्यरातमा नेपाल छोड्दै गर्दा पक्राउ परेका हुन् ।


    images
    images

    Logo