images
images

विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरीः गृहमन्त्री खाँण


  • 389
    SHARES
  • २०७८ माघ २ गते आइतबार

    विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरीः गृहमन्त्री खाँण

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी रहेको बताएका छन् । 

    काठमाडौँ महानगरपालिकाद्वारा आज यहाँ आयोजित २४औँ भूकम्प सुरक्षा दिवस तथा राष्ट्रिय भूकम्पस्मृति सभामा उनले तीनै तहको सहकारको समन्वय र सहकार्यले मात्रै जोखिम कम गर्न तथा उद्धार, राहत र पुनःस्थापनको काम प्रभावकारी बनाउन सकिने उल्लेख गरे ।

    गृहमन्त्री खाँणले यसपालीको भूकम्प सुरक्षा दिवस सोहीअनुसार कार्यक्रम तय गरी मनाउन थालिएको पनि जानकारी दिए । 

    मुलुकका हरेक भौतिक पूर्वाधार भूकम्प प्रतिरोधी बनाउन जरुरी रहेको औँल्याउँदै उनले भने, “सरकारी तथा निजी आवास भूकम्प थेग्नसक्ने गरी बनाउनुपर्छ, त्यसका लागि नागरिकमा आवश्यक ज्ञान र सचेतना पुर्याउनु जरुरी छ ।”

    विश्व्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) को सङ्क्रमण फैलिरहेका सन्दर्भ जोड्दै मन्त्री खाँणले अहिले कोभिडको विपद्बाट नागरिकको जीउज्यान जोगाउनु महत्वपूर्ण भएको बताए । 

    स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अवलम्बन गरी जोखिम न्यूनीकरणमा लाग्नसमेत राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायलाई आग्रह गर्दै उनले यसप्रति सचेत हुन नागरिकमा समेत अनुरोध गरे । 

    गृहमन्त्री खाँणले जोखिमका बीच आम नागरिकको सुरक्षामा खटिने सबै राष्ट्रसेवक कर्मचारीको प्रशंसा पनि गरे । 

    “कोभिड–१९ सङ्क्रमणले आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिकलगायत हरेक क्षेत्रलाई प्रभावित पारेको छ”, उनले भने, “अहिले कोरोना रोकथाम गरी नागरिकलाई बचाउनुपर्ने अवस्था रहेको छ, हामी सबै संवेदनशील हुनुपर्छ ।” 

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले १९९० सालको भूकम्पको असर धेरैलाई जानकारी नभए पनि  २०७२ साल को भूकम्पको साछी हामी सबै रहेको र त्यसले नसोचेको क्षति पुर्याएको बताए । 

    उनले महानगरपालिकाले भूकम्प प्रतिरोधी घर निर्माणका लागि मापदण्ड बनाएर लागू गरेको जानकारी दिँदै अझै पनि यहाँ भूकम्पले भत्काएका संरचना पुनर्निर्माण नहुँदा जोखिम कायमै रहेको छ भने  ।

    गृहमन्त्री खाँणको ध्यानाकर्षण गराउँदै उनले भने, “वसन्तपुर, असनलगायत ठाउँका संरचना अझै टेकाको भरमा छन्, सामान्य पानी पर्दा पनि कतिबेला के हुने हो थाहा हुन्न, समन्यय नहुँदा पुनर्निर्माण हुन सकिरहेको छैन, हामीलाई बनाउन दिनुस्भन्दा दिइएको छैन, यसतर्फ सोच्नु जरुरी छ ।”

    महानगर प्रमुख शाक्यले पुनर्निर्माणका लागि महानगरसँग बजेट रहेकाले जिम्मेवारी दिए महानगरले नै गर्ने पनि बताए । उनका अनुसार स्थानीय सरकार, सङ्घीय सरकार वा गुठी संस्थानबीच समन्वय नहुँदा ती संरचना निर्माण हुन नसकेको हो । 
     
    समारोहमा गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र शैलेन्द्र खनाललगायतको सहभागिता थियो । 

    सोही क्रममा गृहमन्त्रीलगायत अतिथिबाट भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा निर्मित स्तम्भमा पुष्पहार अर्पण गरी स्मृतिसभासमेत आयोजना गरिएको थियो । 

    त्यस अवसरमा विपद्का बेला नागरिकको जिउज्यानको सुरक्षमा खटिने महानगरका ३ कर्मचारीलाई पुरस्कृतसमेत गरिएको थियो । 

    कार्यक्रम पछि गृहमन्त्री खाँणले जुद्ध बारुण यन्त्र कार्यालय निरीक्षण गर्नुभएको थियो । सो क्रममा यहाँको भौतिक संरचना र भूकम्पपछि पुनर्निर्माण हुन नसकेको अवस्थाबारे महानगरप्रमुख शाक्यले गृहमन्त्रीलाई जानकारी गराएका थिए ।


    images
    images

    Logo