काठमाडौं । १० हजार नर्सलाई बेलायत पठाउनेगरी नेपाल र बेलायतबीच भएको वार्ता मोडालिटीबारे नेपाल र बेलायतबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ । शुक्रबार दुई देशका प्रतिनिधिबीच भएको वार्तामा नर्सको माग र आपूर्ति गर्नेबारे सहमति भए पनि मोडालिटीबारे टुंगो लाग्न सकेन ।
बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेशनल हेल्थ सर्भिस’का प्रतिनिधि तथा नेपाल सरकारका प्रतिनिधिबीच भएको वार्ताबाट नेपाली श्रमिकलाई बेलायतमा रोजगारीको व्यवस्था गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरे जानकारी दिए ।
घिमिरेका अनुसार आउँदो फागुन–चैतसम्ममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुनेछ । त्यसपछि नेपालबाट बेलायतको स्वास्थ्य क्षेत्रमा नर्सिङ श्रमिक लैजाने विषयलाई छिटो टुङ्गोमा पु¥याउने विषयमा बैठकमा सहमति भएको उनले जानकारी दिए । नेपाली श्रमिक लैजाने ‘मोडालिटी’बारे भने टुङ्गो नलागेको मन्त्रालयले जनाएको छ । नेपालमा विभिन्न तहका नर्सिङ जनशक्ति रहेका छन् ।
बेलायतले नेशनल हेल्थ सर्भिसेस अन्तर्गत नेपाली नर्सिङ जनशक्तिलाई रोजगारीको अवसर दिने बताइएको छ । बैठकमा नेपालका तर्फबाट श्रम मन्त्रालयअन्तर्गतको रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेल, उपसचिव थानेश्वर भुसाल, वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।
बेलायतका तर्फबाट डिपार्टमेन्ट अफ हेल्थ र नेसनल हेल्थका साथै काठमाडाैंमा रहेको बेलायती दूतावासका प्रतिनिधिको सहभागिता थियो । बेलायतले दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा एक लाख श्रमिक भित्र्याउने घोषणा गरेको छ ।
नेपालबाट करिब १० हजार नर्सिङ जनशक्ति लैजाने बेलायतको तयारी छ । नेपाल नर्सिङ सङ्घका अनुसार अहिलेसम्म नेपालमा ६६ हजार नर्स उत्पादन भएका छन् । तीमध्ये २५ हजार विदेशमा छन् भने नौ हजार नर्स सरकारी सेवामा छन् ।



