मुगु । हिमाली जिल्ला मुगुको ताल्चा एयरपोर्टमा नियमित रूपमा हवाई उडान सञ्चालनमा आउन थालेका छन् । हिमपातले गर्दा अवरुद्ध बनेको उडान मौसममा सुधार आए सुचारु भएको हो । अहिले सो एयरपोर्टमा समिट, तारा, नेपाल एयरलाइन्सले नियमित रूपमा हवाई उडान भरेका हुन् ।
एक साता बढीसम्म रारा विमानस्थलमा हवाई जहाजले उडान नभर्दा यात्रु मर्कामा पर्ने गरेका थिए । लगातार परेको बाक्लो हिमपातले सडक र हवाई यातायात अवरुद्ध भएको थियो । रारा विमानस्थल मुगुदेखि नेपालगन्जसम्म जाने र नेपालगन्जदेखि मुगुसम्म हवाई जहाजहरूले नियमित रूपमा उडान भरेको कर्णाली टुर एण्ड ट्राभल्स मुगुका इन्चार्ज डिबी मल्लले बताए ।
हिमपातले मुगु र जुम्लाको सिमानामा पर्ने घुच्ची लेकमा बाक्लो हिउ जमेपछि डाेजर लगाएर सडक सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताए । मुगुमा पछिल्लो समय मौसममा सुधार हुँदै आइरहेको छ । मुगुमा यो वर्ष दुई पटक मात्र हिमपात भएको छ । हिमपात परेपछि कृषक हर्षित देखिन्छन् ।



