images
images

माघका लागि निक्षेपको ब्याजदर स्थिर : बढाउन रुचि देखिएन, घटाउने प्रयास असफल


  • 621
    SHARES
  • २०७८ पौष ३० गते शुक्रबार

    माघका लागि निक्षेपको ब्याजदर स्थिर : बढाउन रुचि देखिएन, घटाउने प्रयास असफल

    काठमाडौं । अन्ततः माघ महिनाका लागि बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने ब्याजदर स्थिर राखेका छन् । आगामी महिनाको लागि ब्याजदर निर्धारण गर्दा अघिल्लो महिनाकै अन्तिमसम्म सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार आजसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थाले ब्याजदर परिवर्तन नगरेसँगै माघमा ब्याजदर नबढ्ने भएको हो । 

    अहिले वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम १०.०५ प्रतिशत ब्याजदर दिँदै आएका छन् । त्यस्तै, विकास बैंकले १०.२५ प्रतिशत र फाइनान्स कम्पनीले १०.३५ प्रतिशत ब्याजदर तोकेका छन् । रेमिट्यान्सबाट आएको निक्षेपको हकमा १ प्रतिशत विन्दुले बढी ब्याजदर दिन पाउने व्यवस्था बमोजिम यस्तो ब्याजदर ११.०५ देखि ११.३५ प्रतिशतसम्म पुग्ने गरेको छ । 

    अत्यधिक कर्जाको माग र निक्षेपको अभावले ब्याजदरलाई माथि धकलिरहेको समयमा ब्याजदर बढ्दा समेत निक्षेप बढ्न नसकेपछि अघिल्लो महिना बैंकहरुले मंसिरकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेका थिए । माघ महिनामा पनि यो निर्णयलाई निरन्तरता दिइएको छ ।

    घटाउने प्रयास असफल

    त्यसो त, घोषित ब्याजदरको घटबढले निक्षेप संकलन मात्रालाई धेरै प्रभाव नपार्ने भएपछि बैंकर्स संघमा ब्याजदर घटाउने विषयमा पनि छलफल भएको थियो । तर, यो प्रयास सफल हुन सकेन । 

    निक्षेपको ब्याजदर घटाउँदा यसले बजारमा नकारात्मक सन्देश जाने, निक्षेप पलायन हुनसक्ने र यही कारणले बैंक तथा वित्तीय संस्थाहरु बीच नै अस्वस्थ प्रतिस्पर्धाको अवस्था सिर्जना हुने सभ्भावना देखिएका कारण ब्याजदर घटाउने विषयमा सहमति नजुटेको हो ।


    images
    images

    Logo