काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनाको विवरणमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ६.८ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी रिपोर्टमा उक्त तथ्याङ्क उल्लेख गरिएको हो ।
सो अवधिमा कूल ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो । सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भई १ लाख ३१ हजार ८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९२.७ प्रतिशतले घटेको थियो ।
त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९ हजार ५ सय ८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७७.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ५.७ प्रतिशतले कमी आई ४ खर्ब ३३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.५ प्रतिशतले बढेको थियो ।



