म्याग्दी । बेनी नगरपालिकाको १०औँ नगरसभाबाट चालु आर्थिक वर्ष २०७८/७९ का लागि वडास्तरमा १० योजना थपिएका छन् ।
यसअघि गत असारमा सम्पन्न सभाबाट ३ सय ८ वटा पूर्वाधारसम्बन्धी योजना र १ सय ६२ वटा कार्यक्रमका लागि २३ करोड २६ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएको थियो । १० योजनाका लागि ८० लाख रुपैयाँ विनियोजन गर्ने र १२ योजना संशोधन गर्ने प्रस्ताव नगरसभाले पारित गरेको छ । “दशवटै वडामा ८–८ लाख रुपैयाँका दरले १–१ योजनाका लागि बजेट विनियोजन गरिएको छ”, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले भने, “वडा समितिले सिफारिस गरेका ८ तथा प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक विकासतर्फ २–२ योजना संशोधन भएका छन् ।”
सभाले बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालन गर्न १० लाख रुपैयाँ विनियोजन गरेको छ । सभाले चालुतर्फको ४५ करोड ८१ लाख १० हजार रुपैयाँ र पूँजीगततर्फको २४ करोड ९६ लाख ६१ हजार रुपैयाँ संशोधित बजेट पारित गरेको छ । हालसम्म चालुतर्फको १६ करोड ८५ लाख ४ हजार (३७.८५) रुपैयाँ र पूँजीगततर्फ २ करोड ९५ लाख ३५ हजार (१२.४८)रुपैयाँ प्रतिशत बजेट खर्च भएको प्रगति विवरण नगरप्रमुख हरिकुमार श्रेष्ठले प्रस्तुत गरे ।
यस वर्ष बजेट विनियोजन भएकामध्ये ३० योजना सम्पन्न र ४३ सम्झौता भइसकेका तथा अन्य कार्यान्वयनको चरणमा छन् । कूल ४ करोड १२ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको बेनी नगरपालिकाले पुस २५ गतेसम्म १ करोड ६९ लाख २९ हजार (४१.०९) रुपैयाँ प्रतिशत राजस्व सङ्कलन गरेको छ । २ लाख रुपैयाँ भन्दा कम बजेटका योजना वडामै सम्झौता, १० लाख रुपैयाँ भन्दा कम बजेटका योजना उपभोक्ता समिति र सोभन्दा बढी बजेटका योजना निर्माण व्यवसायीमार्फत कार्यान्वयन गर्ने नगरपालिकाले नीति लिएको छ ।
नगरपालिकाले सडक, सिँचाइ, खानेपानी, नदी तथा पहिरो नियन्त्रण, पदमार्ग र भवन निर्माणसम्बन्धी आयोजनालाई प्राथमिकता दिएको छ । रावण उद्यान, खुलामञ्च विस्तार, गलेश्वर–गिठिनी–पात्लेखेत सडक, अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक, कालीपुल बसपार्क, गौस्वारा तमाने खानेपानी योजना, एकीकृत जामुनाखर्क खानेपानी, खबरा खानेपानी योजना, क्याम्पस चोक तथा मङ्गलाघाट भलबाढी नियन्त्रण र तातोपानी कुण्ड व्यवस्थापन तथा प्राकृतिक चिकित्सालय सञ्चालन नगरपालिकाका गौरवका आयोजना हुन् ।
आवधिक योजना बनाएको र मध्यकालीन खर्च योजना तर्जुमाको क्रममा रहेको बेनी नगरपालिकाको न्यायिक समितिमा दर्ता भएका ११ मुद्दामध्ये दुई फस््र्योट भएका छन् । नगरपालिकाका १९ हजार ८ सय ८ जनालाई कोरोनाविरुद्धको पूर्ण खोप लगाइएको छ । विपद्का कारण क्षति पुगेका ५७ परिवारलाई ३२ लाख रुपैयाँ राहत वितरण गरिएको छ ।



