काठमाडौं । लामो समयदेखि चीनसँगका दुई नाका सहज रुपमा सञ्चालनमा नआएपछि व्यवसायी र स्थानीयले नाका पूर्णरुपमा सुचारु गर्न माग गरेका छन् ।
चीनले अघोषित नाकाबन्दी गरेको आरोप लगाउँदै उनीहरुले नाका सुचारु गर्न दबाब दिन बुधबार राजधानीमा प्रदर्शन गरे। कोभिड सुरु भएपछि बन्द भएका केरुङ र तातोपानी नाका केही खुले पनि पूर्ण रुपमा खुलेका छैनन् । दैनिक २ सयदेखि साढे दुई सय ट्रक सामान आयात हुने यी नाकाबाट अहिले मुस्किलले दैनिक २० वटा गाडीमात्रै भित्रिन पाएका छन्।
चीनसँगको केरुङबाट दैनिक नौ ट्रक र तातोपानी नाकाबाट ११ ट्रक सामान आयात भैरहेको भन्सार कार्यालयले जनाएका छन्। आयात हुने सामानमा पनि जलविद्युत्का सामान, तरकारी, फलफूल, स्याउ, लसुनलगायतका सामग्रीले प्राथमिकता पाउँछन्। जाडोका लागि ल्याएका सामान अझै आइनपुगेको व्यवसायीको गुनासो छ।
केरुङ हुँदै आउने सामान चिनियाँ पक्षले केरुङ र रसुवागढीको बीचमा रहेको पुलमा झार्ने गरेको छ। त्यहाँबाट नेपाली कामदारले लोड गरी ल्याउँछन्। कोभिडको कारण चिनियाँ पक्षले सामान पुलमा झार्दा लोड गर्न पनि नेपाली व्यापारीलाई झन्झट छ। तातोपानी नाकामा भने चिनियाँ कन्टेनरले नै भन्सारसम्म सामान ल्याएर छाड्ने गरेकाले केही सजिलो छ।
नेपालीका समस्यामा चिनियाँ पक्ष गैरजिम्मेवार बनेको व्यापारीको आरोप छ। परराष्ट्र मन्त्रालयमा तीनचारपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको व्यवसायीले गुनासो गरे।
नेपालमा चीनबाट वार्षिक खर्बौं रुपैयाँको सामान आयात हुन्छ। भन्सार विभागको आर्थिक वर्ष ०७७र७८ को तथ्यांकअनुसार २ खर्ब ३३ अर्ब ९२ करोड रुपैयाँको सामान चीनबाट आयात भएको छ। भारत हुँदै ल्याउँदा पानीजहाजको भाडा केही महंगिएको कारण केरुङ र तातोपानी नाका हुँदै सामान आयात गर्न चाहन्छन् । नागरिक दैनिकबाट



