काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले चालू आर्थिक वर्षमा उपत्यकामा ४८ वटा पार्क निर्माण गर्ने भएको छ । १ करोड रुपैयाँको लागतमा १५ वटा र १ करोड रुपैयाँभन्दा कमको लागतमा ३३ वटा पार्क निर्माण गर्न लागिएको हो ।
प्राधिकरणको योजना महाशाखा प्रमुख सौरभ ढकालले काठमाडौँ जिल्लामा एक करोड रुपियाँको लागतमा सातवटा, ललितपुर र भक्तपुर जिल्लामा चाररचारवटा पार्क निर्माण गर्न लागिएको जानकारी दिँदै पार्क निर्माणका लागि कम्पनी छनोटको कार्य एक महिनाभित्र सम्पन्न हुने बताए ।
५० लाख रुपैयाँभन्दा कमको लागतमा काठमाडौंमा १९ वटा, ललितपुरमा ६ वटा र भक्तपुरमा ८ वटा पार्क निर्माण गरिनेछ ।
प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकालले पार्क निर्माणका लागि प्राधिकरणले चालू आर्थिक वर्षमा काठमाडौंमा ११ करोड ९६ लाख रुपैयाँ, ललितपुरमा ६ करोड ३ लाख रुपैयाँ र भक्तपुरमा ५ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिइन् । गोरखापत्र दैनिकबाट



