काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधिन सेती नदी जलविद्युत आयोजनाले आईपीओ निकाल्ने निणर्य गरेको छ । आयोजनाको प्रवर्द्धक कम्पनी भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभाले आयोजना प्रभावित र अन्यका लागि आईपीओ जारी गर्ने निणर्य गरेको हो ।
साधारण सभाबाट पारित उक्त प्रस्तावलाई अब जतिसक्दो चाँडो कार्यान्वयनका लागि थप प्रक्रिया अगाडि बढाइने कम्पनीका कार्यकारी अध्यक्ष जगत बहादुर पोखरेलले जानकारी दिए । जुम प्रविधिको माध्यमवाट सेमि-भर्चुअल रुपमा गरिएको साधारण सभामा प्रमुख अतिथि पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सम्बोधन गर्दै भिजन लुम्बिनीले गरेको नौलो अभ्यासको प्रशंसा गरे । उनले सानो सानो पूंँजी एकीकृत गरेर ठुला ठुला जलविद्युतको परियोजना चलाउनु उदाहरणीय भएको उल्लेख गरे ।
साधारण सभामा विशिष्ठ अतिथि स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष कृष्णप्रसाद आचार्य, प्रमुख सल्लाहकार गणेश कुमार श्रेष्ठ, वित्तीय सल्लाहकार नारायण पौडेल, सल्लाहकारहरु गोपाल पोखरेल, वासुदेव अधिकारी, सोसल डाइरेक्टर बोम बहादुर गुरुङ, एचआईडीसीएल प्रतिनिधि सञ्चालक वासुदेव भण्डारी, प्रोजेक्ट डाइरेक्टर लेखनाथ पाण्डे, कर्पोरेट लगानीकर्ता शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष थानेश्वर पौडेल, सञ्चालकहरु दुर्गा सुवेदी, विनोद ज्ञवाली, कुलबहादुर केसी, सन्तोष पोखरेल लगायतले सेती नदी जलविद्युत आयोजनाको काम अनुकरणीय तरिकाले भइरहेको भन्दै प्रशंसा गरेका थिए ।
भिजन लुम्बिनीले बनाउन लागेको आयोजना नदी जल प्रवाहमा आधारित छ । माछापुच्छ्रेको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी ६ हजार ४ सय मिटर लामो भूमिगत पाइपमार्फत पानील्याएर १ सय ८७ मिटर उचाइबाट निर्माणाधिन पावर हाउसमा खसालेर विद्युत उत्पादन गर्ने योजना छ । पाइपमार्फत् लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव ५ मेगावाट क्षमताका दुई वटा टर्वाइनमा जोडिनेछ ।
२०७७ साउनदेखि सुरु भइ २७ महिना भित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएकोमा कार्यतालिका अनुसारनै काम अघि बढेकाले तोकिएको समय अगावै विद्युत उत्पादन हुने भिजन लुम्विनी उर्जा कम्पनीका कार्यकारी अध्यक्ष पोखरेलले बताए ।
उत्पादित विद्युत ४ किलोमिटर दूरीमा रहेको लाहाचोकमा निर्माणाधिन नेपाल विद्युत प्राधिकरणको सबस्टेशनमा जम्मा गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना छ । ५ अर्ब रुपैयाँ लगानी रहेको आयोजनामा ३ अर्ब ५० करोड रुपैयाँ विभिन्न बैँक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् ।
बैँक वित्तीय संस्थासँग लगानी सम्बन्धी सम्झौता यस अघिनै सम्पन्न भइसकेको आयोजना प्रबन्धक इन्जिनियर लेखनाथ पाण्डेले जानकारी दिए । बाँकी रकम प्रवर्द्धक कम्पनी तथा स्थानीयवासीले लगानी गर्नेछन् । उनका अनुसार आयोजनामा लगानीका लागि स्थानीयवासी समेत उत्साहित छन् । स्थानीय ६ सय जनाले आयोजनामा लगानी गरेका छन् ।
जलविद्युत आयोजनाका लागि आवश्यक ७० रोपनी निजी जमिन स्थानीयवासीबाट खरिद गरिसकिएको र सरकारी ३० रोपनी क्षेत्रफल जमिन र वन क्षेत्रका केही रुख कटान गर्नुपर्ने भएकाले सोको प्रस्ताव वनमन्त्रालयमा पेश गरिएकामा मन्त्रिपरिषद्बाट स्वीकृत भएको आयोजनाका सामाजिक विकास प्रबन्धक बमबहादुर गुरुङले जानकारी दिए ।
आयोजनाले उत्पादन गरेको विद्युत् वर्षा यामको ६ महिना ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसा प्रति युनिटमा विद्युत प्राधिकरणले खरीद गर्ने सम्झौता छ । आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत माछापुच्छ्रेको स्थानीय सरकार, शैक्षिक संस्था तथा विभिन्न क्लबहरुलाई सहयोग गर्दै आएको जनाएको छ । सामाजिक उत्तरदायित्वबाट वार्षिक ९० लाख रुपैयाँ सहयोग गर्ने सम्झौता स्थानीय सरकारसँग भएको कम्पनीले जनाएको छ ।



