काठमाडौं । बतास समुहलाई कारवाही गर्न सुझाव दिँदै छानविन समितिले प्रतिवेदन सार्वजनिक गरेको छ । नारायणहिटी दरबार संग्राहलयभित्र बतास समूहले निर्माण गरेको संरचना अवैध भएको ठहरसहित संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाएको हो ।
सोमबार पत्रकार सम्मेलन गरी छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई प्रतिवेदन बुझाउँदै संरचना अवैध भएको ठहर गरेको हो । समितिले संरचना निर्माण रोकी सम्बन्धित निकायबाट कारबाही हुनुपर्ने सुझाव दिएको छ ।
प्रतिवेदनमा संग्राहलयभित्र क्यान्टिनरक्याफ्टेरिया सञ्चालनका लागि अनुमति दिएको भएपनि क्षेत्रफल र स्थानको स्पष्ट सीमांकन नभएको उल्लेख गरिएको छ । सम्झौता विपरीत काम हुँदा पनि विकास समितिका कार्यकारी निर्देशकबाट विकास समितिको स्वामित्वमा रहेको सम्पत्तिको संरक्षण र सम्वर्द्धनका लागि जिम्मेवारी पूरा नभएको पनि प्रतिवेदनमा ठहर गरिएको छ ।
प्रतिवेदनमा उल्लेख भए अनुसार अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न र समितिसंग समन्वय नगरी निर्माण गरेका र संझौतामा उल्लेखित क्षेत्रभन्दा बढी क्षेत्रमा निर्माण गरिएका सम्पूर्ण संरचनाहरु हटाउन अनुरोध गरेको छ । पुस २३ गते समितिका सम्पूर्ण पदाधिकारीहरुबाट भएको स्थलगत अवलोकनका क्रममा समेत निर्माण कार्य स्थगित रहेको र केहि निर्माणाधीन टहराहरु र पर्खालमा राखिएका जालीहरु भत्काइरहेको छ ।
पत्रकार सम्मेलनमा नारायणहिटीमा हाललाई संरचना निर्माणकार्य स्थगित भएको जानकारी दिइयो । यसैगरी सम्झौतामा उल्लेख भन्दा बढी क्षेत्रमा निर्माण गरिएका संरचना हटाउन भनिएको र केही निर्माणाधीन टहरा र पर्खाल राखिएका जालीहरू भत्काइएको पाइएको बताइएको छ ।



