काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकले अर्को लकडाउन थेग्नसक्ने अवस्था नरहेको बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले सोही कारण अब पूर्ण रुपमा लकडाउन घोषणा गर्न नसकिने बताएका हुन् ।
उनले सरकारले अब संक्रमण कम गर्न आवागमनका कडाई गर्ने नीति लिए पनि विथगतमा जस्तो पूर्ण रुपमा लकडाउन हुन नसक्ने उल्लेख गरे । कार्यक्रममा उनले अहिले बैंक तथा वित्तीय संस्थामा भएको तरलता समस्याको कारण पुँजीगत खर्च कम हुनु र आयात वृद्धि हुनु रहेको बताउँदै यसलाई समाधान गर्न सरकारले आयात निरुत्साहनका नीतिहरु अवलम्बन गरेको उल्लेख गरे ।
पुँजीगत खर्च नबढ्नाले पनि अर्थतन्त्रमा तरलताको समस्या देखिएको बताउँदै अर्थ मन्त्रालयले मात्रै चाहेर तरलताको समस्या समाधान नहुने उनले बताए । ‘पुँजीगत खर्च वृद्धिमा अर्थ मन्त्रालय सहजकर्ता मात्रै हो, खर्च गर्ने विकास मन्त्रालयले हो,’ उनले भने, ‘अर्थ मन्त्रालयले आफ्नो तर्फबाट छिटो खर्च गर्न प्रयास गरिरहेको छ । तर, खर्च गर्ने मन्त्रालय पनि यसमा जिम्मेवार बन्नुपर्छ ’
कार्यक्रममा संघका अध्यक्ष पवन गोल्यानले वित्तीय क्षेत्रको विद्यमान समस्या समाधान गर्न वैधानिक च्यानलबाट आउने विदेशी मुद्रालाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गरे । उनले विदेशमा बस्ने नेपालीलाई आईपीओमा १० प्रतिशतको कोटा छुट्याउन समेत माग गरे ।



