images
images

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण अर्को वर्षदेखि


  • 310
    SHARES
  • २०७८ पौष २६ गते सोमबार

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण अर्को वर्षदेखि

    काठमाडौं । स्वदेशी लगानीमा निर्माण हुन लागेको अर्ध जलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययनदेखि निर्माण चरणमा पुग्ने काम अघि बढेको छ । १ सय ६ मेगावाटको उक्त आयोजनाका लागि मुआब्जा वितरणदेखि निर्माणका अन्य प्रक्रिया शुरू भएको जगदुल्ला हाइड्रोपावर कम्पनीका निमित्त कार्यकारी प्रमुख सञ्जय सापकोटाले बताए ।

    आयोजनाको विद्युत् उत्पादनगृह मुड्केचुला गाउँपालिका–४ इलमा निर्माण हुनेछ भने जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा मुख्य बाँध रहनेछ । नेपालको पानी जनताको लगानीअन्तर्गत आयोजनाले विद्युत् उत्पादन गर्नेछ । करिब २० अर्ब लगानीमा निर्माण हुन लागेको यो आयोजना दैनिक १ करोड २० लाख आम्दानी गर्ने अपेक्षा छ ।

    उज्यालो नेपाल अभियानमार्फत मुलुकको ऊर्जा विकासमा टेवा पुर्‍याउन कम्पनी ऐनअनुसार २०७४ जेठ १६ गते यस कम्पनीको स्थापना गरिएको थियो । कम्पनीले छोटो समयमा आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन प्राप्त गरी वातावरणीय प्रभाव मूल्यांकन कार्यअन्तर्गत सार्वजनिक सुनुवाइ पनि गरिसकेको छ ।

    आयोजनाको विद्युत्गृह स्थल इलमा थप भौगर्भिक अध्ययन कार्यका लागि निर्माण गरिरहेको टेस्ट अडिट टनेलको समेत प्रगति ८० प्रतिशत सम्पन्न गरिसकेको बताएको छ । कुल ४ सय मिटर लम्बाइ रहेको नमूना परीक्षण सुरुङको ३ सय २० मिटर खन्ने काम सम्पन्न भएकोे छ । अस्थायी कार्यालय तथा आवास भवनको निर्माणको कम समेत सम्पन्न गरिसकेको छ ।

    जटिल भूगोल र हेलिकोप्टरबाट ल्याइएका सामग्रीबाट त्यहाँको नमूना परीक्षण हुने गरेको छ । आयोजनाका लागि आवश्यक पर्ने २ सय ६० रोपनी जग्गा अधिग्रहण र मुआब्जाको काम अघिल्लो वर्ष नै भइसकेको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम समेत सम्पन्न अघिल्लो वर्ष सम्पन्न भइसकेको छ ।

    आयोजनाले उत्पादित विद्युत् विक्रीका लागि गरिने विद्युत् खरिद विक्री सम्झौता नेपाल विद्युत् प्राधिकरणसँग तथा वित्त व्यवस्थापनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थासँग छलफल तथा प्रस्तुतीकरण गरी सम्झौताको अन्तिम चरणमा रहेकाले अर्को आर्थिक वर्ष मुख्य कार्यको निर्माण शुरू गर्ने लक्ष्य रहेको निमित्त कार्यकारी प्रमुख सापकोटाले बताए ।

    आयोजनाको पहुँच मार्ग जाजरकोट–डोल्पा सडक त्रिवेणीबाट करिब ४५ किलोमिटर सहायक सडक निर्माण गरी आयोजनास्थल मुड्केचुला र जगदुल्ला सडकखण्ड निर्माण गर्नुुपर्ने बाध्यता छ । डोल्पास्थित प्रदेश सरकार मातहत रहेको भौतिक पूर्वाधार कार्यालय तथा स्थानीय पालिकासँग कम्पनीले सहकार्य गरी करिब ३० किलोमिटर ट्र्याक खोल्ने कार्य सम्पन्न गरिसकेको र अहिले निर्माण गरिरहेको सडक पूर्वाधारको काममा पनि उल्लेख्य प्रगति देखिएको छ । 

    कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले आयोजनाको काम सन्तोषजनक भएको भन्दै जिल्लाको गौरवसँग मात्र नभई कर्णालीकै भविष्यसँग जोडिएको यो आयोजना निर्माणका लागि सबैले सहयोग आवश्यक रहेको बताए । आर्थिक अभियान दैनिकबाट


    images
    images

    Logo