images
images

वर्षाका कारण ८ करोडको इँटा नष्ट


  • 261
    SHARES
  • २०७८ पौष २५ गते आइतबार

    वर्षाका कारण ८ करोडको इँटा नष्ट

    काठमाडौं । बेमौसमी वर्षाले रुपन्देहीका इँटा उद्योगमा बनाइएका ८ करोड मूल्य बराबरको काँचो इँटा नष्ट भएको छ । लुम्बिनी इँटा व्यवसायी सङ्घ भैरहवाका अनुसार गत हप्ता परेको  वर्षाले रुपन्देहीका ४७ वटा इँटा उद्योगका ८ करोड मूल्य बराबरको इँटा गलेर नष्ट भएको हो ।

    वर्षाका कारण जिल्लाका सबै इँटा उद्योगमा क्षति पुगेको  लुम्बिनी इँटा व्यवसायी सङ्घले जनाएको छ । यी उद्योगमा रहेका ३ करोड २५ लाख गोटा काँचो इँटा नष्ट भएको उद्योगीहरूको भनाइ छ  । वर्षाका कारणले गलेर इँटा नष्ट हुँदा अहिले मात्रै ८ करोडभन्दा बढीको नोक्सानी इँटा व्यवसायीहरूलाई भएको प्रारम्भिक अनुमान गरिएको इँटा व्यवसायी सङ्घ लुम्बिनीका महासचिव अजयकुमार गुप्ताले बताए । 

    अहिलेको वर्षाले एउटा भट्टामा कम्तीमा २ लाखदेखि १० लाखसम्म काँचो इँटा गलेर नोक्सानी भएको उनको भनाइ छ । काँचो इँटाको बीमा पनि नहुने भएकाले राज्यले संरक्षण गर्न जरुरी रहेको व्यवसायीहरुको माग रहेको छ । रुपन्देहीमा उत्पादन हुने इँटाहरू जिल्लासँगसँगै  पाल्पा र स्याङ्जामा बिक्री हुने गरेको छ । 

    मङ्सिरदेखि वैशाखसम्म इँटा उत्पादन हुने समय भएको र त्यसपछिको छ महिनासम्म वर्षा मौसममा यो उद्योग बन्द रहने गर्दछ । बेमौसमी वर्षाका कारण काँचो इँटा गलेर नष्ट भए पनि बजारमा इँटाको अभाव हुन नदिन आफूहरू लागिपरेको सङ्घले जानकारी दिएको छ  । अब नयाँ इँटा उत्पादन हुन एक महिना ढिलाइ हुने देखिएको छ । रुपन्देहीमा सञ्चालित इँटा उद्योगमा करिब  १० अर्ब रुपैयाँ लगानी छ भने ८ हजारभन्दा बढी मजदुर कार्यरत छन् ।


    images
    images

    Logo