images
images

सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन अल्टिमेटम


  • 393
    SHARES
  • २०७८ पौष २५ गते आइतबार

    सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन अल्टिमेटम

    काठमाडौँ । कर्णाली राजमार्गको जुम्ला खण्डको जिरो प्वाइन्टदेखि बसपार्क क्षेत्रमा मात्रै सडक अतिक्रमण गरेर करिब दुई दर्जन संरचना निर्माण गरेको भेटिएको छ । 

    सडक डिभिजन कार्यालयले चिन्ह लगाएर छोडेको जग्गा समेत अतिक्रमण गरी स्थानीयवासीले घर टहरा, पर्खाल, सेफ्टी ट्याङ्कीलगायतका संरचना निर्माण गरेको भेटिएको हो ।  

    नापी र सडक डिभिजन कार्यालयले सडकको क्षेत्र नाप्दा घर टहरा, पर्खाल, सेफ्टी ट्याङ्की गरी २४ वटा संरचनाले सडक मिचेर निर्माण गरेको भेटिएको सडक डिभिजन कार्यालय जुम्लाका सब इञ्जिनीयर वीरेन्द्र रावलले बताए ।

    उनका अनुसार अतिक्रमण हटाउने अभियानअन्तर्गत गरिएको नापी नक्साबाट २ पक्की घर, ४ जस्तावाला घर, ४ पक्की सेफ्टी ट्याङ्की, ८ वटा तारजाली एङ्गलसहितका पर्खाल, १ ढुङ्गाको पर्खाल र ५ टहरा गरी कूल २४ वटा संरचना सडक अतिक्रमण गरेर निर्माण भएका छन् । 

    सडक अतिक्रमण गरी निर्माण भएका दुई पक्की घर र चार सेफ्टी ट्याङ्कीलाई आफ्नै तरिकाले हटाउन १५ दिने अल्टिमेटम दिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए । 

    “पक्की घर मालिक र सेफ्टी मालिकलाई अतिक्रमण हटाउन पत्र समेत दिएका छौं । पत्र लिन नमान्नेको घरमै सूचना टाँस गरेका छौ । 

    १५ दिनभित्र नहटाए वा सम्पर्कमा नआएपछि सडक ऐन– २०३१ अनुसार भत्काइने छ”, उनले भने, “घरको आङ्गन, निर्माण सामाग्री भत्काउने र हटाउन काम जारी छ ।”

    त्यस्तै जस्तावाला घर हटाउन ७ दिनको समय दिइने र सो अवधिमा नहटाए डोजर प्रयोग गरी हटाइने भएको छ । भने, तारजाली पर्खाल, ढुङ्गाको पर्खाल र टहरालाई शुक्रवार डोजर प्रयोग गरेर हटाइने प्रमुख श्रेष्ठले जानकारी दिए । 


    images
    images

    Logo