images
images

पदाधिकारी विवादमा मुछिएपछि गलेश्वर शिवालयको नेतृत्व परिवर्तन


  • 284
    SHARES
  • २०७८ पौष २५ गते आइतबार

    पदाधिकारी विवादमा मुछिएपछि गलेश्वर शिवालयको नेतृत्व परिवर्तन

    काठमाडौँ । बेनी नगरपालिका–९ स्थित जिल्लाको प्रमुख धार्मिक संस्था गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी विवादमा मुछिएपछि विशेष अधिवेशनबाट नेतृत्व परिवर्तन भएको छ । 

    शनिबार भएको सातौँ विशेष अधिवेशन तथा १६ औँ कार्यकारीसभाबाट माधवप्रसाद रेग्मीका अध्यक्षतामा चयन भएको समितिको उपाध्यक्षमा बमबहादुर पुन, सचिवमा बलबहादुर खत्री, कोषाध्यक्षमा कुमारी रोका रहनुभएको छ । 

    गत अधिवेशनबाट अध्यक्षमा निर्वाचित रुद्रबहादुर कार्कीको निधन भएको र उपाध्यक्ष भीमनाथ परालुलीले आफैँ पदाधिकारी भएको संस्थाका विरुद्ध उजुरी गरेर विवादमा तानिएपछि ज्येष्ठ सदस्यका हैसियतमा रेग्मीका अध्यक्षतामा विशेष अधिवेशन बोलाइएको हो ।

    सदस्यमा आशिका पुर्जा, रवीन्द्र कार्की, पूर्णबहादुर बानियाँ, मनोज पौडेल, पुण्य चोखाल, सुरेन्द्रराज शर्मा, टीकानन्द सुवेदी, धनप्रसाद रोका र हीराबहादुर बरुवाल चयन हुनुभएको कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिए ।

    कोषका प्रमुख संरक्षकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गुठी संस्थानमा परेको उजुरी छानबिनका क्रममा पहिचान भएका कमजोरी सुधार गर्न विशेष साधारणसभा गर्नुपर्नेलगायत १३ बुँदे निर्देशन दिइएको बताए ।

    प्रजिअ रानाले कोषको विधान संशोधन गरेर समयसापेक्ष बनाउन, कोषको आम्दानीलाई धेरै सहकारीमा नराखी अक्षयकोष बनाएर बैंकमा राख्न, जडभरत संस्कृति माध्यमिक विद्यालय, अन्नक्षेत्र, राधाकृष्ण मन्दिर र गलेश्वर वृद्धाश्रमलाई कोषअन्तर्गत सञ्चालन गर्न निर्देशन दिए । 

    गलेश्वर मन्दिरको छानोलाई पित्तललाई छाइनुका साथै कालीगण्डकीको पानी तानेर स्नान गर्ने खानेपानी आयोजना निर्माण गर्नुलाई कोषले पछिल्लो एक वर्षको उपलब्धि मानेको छ । 

    कोरोना महामारीका कारण कोषको आम्दानी घट्दा संस्कृति विद्यालय, अन्नक्षेत्र र ज्येष्ठ नागरिक आश्रम सञ्चालन गर्न समस्या भएको छ । 

    २ करोड ७० लाख ३७ हजार ७ सय ७४ रुपैयाँ बचत रहेको कोषले चालु आर्थिक वर्षका लागि ३ करोड ९४ लाख रुपैयाँ र आगामी आर्थिक वर्षका लागि  १२ करोड १८ लाख ६० हजार रुपैयाँको आयव्यय विवरण प्रस्ताव गरेको छ । 

    साउनदेखि यता  २ करोड ९२ लाख १० हजार ९१  रुपैयाँआम्दानी र  २१ लाख ७२ हजार ३ सय १७ रुपैयाँ खर्च भएको छ । यस वर्ष १सय ८ धारामा कालीगण्डकीको पानी तानेर स्नान गर्ने व्यवस्था मिलाउने योजना बनाएको छ ।

    कालीगण्डकी नदी किनारको ९ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ ।

    हिन्दू धर्मग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचतुर्दशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्छ ।


    images
    images

    Logo