images
images

माघको पहिलो हप्ताबाट अग्रपङ्क्तिमा काम गर्नेलाई तेस्रो मात्रा


  • 337
    SHARES
  • २०७८ पौष २४ गते शनिबार

    माघको पहिलो हप्ताबाट अग्रपङ्क्तिमा काम गर्नेलाई तेस्रो मात्रा

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ । 

    मन्त्रालयका सचिव डा रोशन पोखरेलले माघको पहिलो हप्ताबाट अग्रपङ्क्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो हप्ताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त थप एक मात्राको खोप लगाउने भएको जानकारी दिए । 

    उनले सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई दृष्टिगत गर्दै कोरोना भाइरसको थप एक मात्रा (तेस्रो मात्रा) दिइने थालेको बताए । नेपालमा अहिले कूल परीक्षण गराएकामध्ये  कोभिड–१९ सङ्क्रमण ८.४९ प्रतिशतमा देखिएको छ ।  हिजो मात्र १४ हजार ९ सय ७१ जनामा परीक्षण गर्दा ९ सय ६८ जनामा सङ्क्रमण देखिएको थियो । 

    कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एक मात्रा खोप दिइन थालेको हो । हिजो मात्र २४ जनालाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएको थियो । यसअघि गम्भीर प्रकृतिका रोग भएका बिरामी र  रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई अतिरिक्त मात्रा खोप एक दिन मात्र (यही पुस २० गते) लगाएर स्थगित गरिएको थियो । 

    मन्त्रालयले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप लगाएपछि मात्र अतिरिक्त खोप दिने निर्णय गरेपछि एक दिन लगाएर स्थगित गरेको थियो । मन्त्रालयले राष्ट्रिय खोप अभियान दु्रत गतिमा सञ्चालन गरेर यही पुस मसान्तभित्रमा लक्षित सबैलाई खोप लगाउने तयारी गरेको छ । 

    यस्तै, मन्त्रालयले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको तीन महिना पुगेका अग्रपङ्क्तिमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यसंस्थामा काम गर्ने कर्मचारी, सरकारी निकायमा काम गर्ने कर्मचारीलाई खोपको अतिरिक्त एक मात्रा खोप लगाइनेछ । 

    यस्तै, कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पुगेका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको साथै मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति सक्रिय क्यान्सरका रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीलाई पनि अतिरिक्त मात्रा खोप दिइने जनाएको छ । अहिले सरकारसँग १ करोड दुई लाख मात्रा खोप रहेको छ । 

    स्वास्थ्य सचिव डा पोखरेलले सम्भावित तेस्रो लहर रोक्नका लागि सीमा नाकामा एन्टीजेन परीक्षण बढाइएको समेत बताए ।  


    images
    images

    Logo