images
images

काठमाडौँ महानगरपालिकाका ६३ प्रतिशतले पूर्ण खोप लगाए 


  • 262
    SHARES
  • २०७८ पौष २३ गते शुक्रबार

    काठमाडौँ महानगरपालिकाका ६३ प्रतिशतले पूर्ण खोप लगाए 

    काठमाडौँ । काठमाडौँ महानगरपालिकामा ६३ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । 

    हालसम्म महानगरपालिकामा खोप लगाउन लक्षित उमेर समूहमध्ये ६३ प्रतिशतले पूर्ण मात्रा र ७५ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको कामपा जनस्वास्थ्य विभागले जनाएको छ । 

    पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण बढिरहेकाले पनि काठमाडौँ महानगरपालिकाले खोप कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाएको जनाएको छ ।   

    काठमाडौँ महानगरपालिका जनस्वास्थ्य विभागका प्रमुख हरि कुँवरका अनुसार अब दोस्रो मात्रा खोप लगाउन बाँकी रहेका र दुवै मात्रा लगाउनु पर्ने लक्षित समूहका लागि पनि खोप कार्यक्रम तीव्र रुपमा अघि बढाइएको छ ।

    काठमाडौँमा खोप लगाउने १५ लाख ६३ जना लक्षित समूहका छन् । अहिले कामपाको ३२ मध्ये ११ स्थानबाट खोप कार्यक्रम दैनिक रुपमा नै सञ्चालन भइरहेको छ भने काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य ४ नाकामा पनि स्वास्थ्य टोली खटाएर खोप कार्यक्रम सञ्चालन भइरहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । 

    पछिल्लो समय हरेक दिन कोरोना भाइरस सङ्क्रमण बढिरहेको छ, विश्वका अन्य मुलुक र छिमेकी देश भारतमा पनि प्रतिदिन कारोना सङ्क्रमित र मृतकको सङ्ख्या बढिरहेकाले यसबाट हुने मानवीय क्षति कम गर्नका लागि पनि खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने कुँवरको भनाइ छ । 

    “यसका लागि नागरिक पनि उत्तिकै सचेत हुनुपर्ने देखिन्छ, भीडभाड कम गर्ने र सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्ने काम जनताको नै हो । 

    सबैको सहकार्य भए विगतमा झै यस पटक पनि यसबाट हुने क्षतिलाई कम गर्न सकिन्छ”, उनले भने ।  अहिले देशको कल जनसङ्ख्याको ३५ दशमलव ९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने ४८ दशमलव ५ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् ।  


    images
    images

    Logo