काठमाडौं । व्यवसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच सीप तथा उद्यमशीलता विकास गर्ने सम्बन्धमा समझदारीपत्र (एमओयू) भएको छ । तहसँगको साझेदारीमा स्थानीय युवाको उद्यमशीलता अभिवृद्धिका लागि दुई संस्थाबीच राजधानीमा यस्तो समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा सीटीईभीटीका तर्फबाट सदस्यसचिव जीवनारायण काफ्ले तथा कोषका तर्फबाट कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार सीटीईभीटीले प्रत्येक स्थानीय तहमा सम्बन्धित क्षेत्रको स्रोत साधनको प्रयोग तथा स्थानीय आवश्यकताको आधारमा छोटो तथा लामो अवधिको सीप तथा अभिमुखिकरण एवं क्षमता अभिवृद्धिसम्बन्धी तालिम सञ्चालन गर्नेछ ।
यसरी तालिम सञ्चालन गर्दा सम्बन्धित स्थानीय तह, गैर सरकारी संस्था, सहकारी संस्था, उद्योगी तथा व्यवसायी तथा अन्य रोजगारदाता संस्थासँग समन्वय समेत गर्न सक्ने उल्लेख गरिएको छ । यसरी सिकेका सीपहरुलाई सीटीईभीटीले आवश्यक परीक्षण र प्रमाणीकरण गरि सम्बन्धित व्यक्तिलाई प्रमाणपत्र उपलब्ध गराउने काम गर्नेछ ।

समझदारी अनुसार परिषद्ले दिएको प्रमाणपत्र एवं गरेको सिफारिसका आधारमा कोषले सम्बन्धित व्यक्तिको उद्योमशीलता विकासका लागि आवश्यक पर्ने वित्तीय सहयोग उपलब्ध गराउनेछ । यस्तो सहयोग सहुलियतपूर्ण ऋणको रुपमा प्रवाह हुनेछ ।
कार्यक्रममा बोल्दै परिषद्का सदस्य सचिव काफ्लेले सीटीईभीटीसँग वार्षिक रुपमा लामो अवधिको तालिम ८४ हजारलाई र छोटो अवधिको तालिम २१ हजार जनालाई दिनसक्ने क्षमता रहेको र वार्षिक ५० हजारको सीप परीक्षण गरी प्रमाणपत्र उपलब्ध गराउने गरेको बताउँदै यसरी सीप सिकेको युवालाई उद्यामशीलतासँग जोड्न कोषसँग सहकार्य गरेको उल्लेख गरे ।

‘युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १२ हजार जनालाई उद्यामी बनाउने लक्ष्य लिएको छ । हामीसँग तालिम दिने क्षमता छ । दुई संस्थाको उद्देश्यलाई मिलेर हासिल गर्न हामीले समझदारी गरेका हौं ।’
उनले अहिले पनि नेपालीहरु अदक्ष र अर्धदक्ष श्रमिकको रुपमा विदेश जाने गरेको भन्दै सीप सिकेर विदेश जाँदा रेमिट्यान्स ४/५ गुणाले बढ्ने दाबी समेत गरे । यद्यपि अहिलेको पहिलो प्रयास भने स्वदेशमै उद्यमशीलता विकास गर्नेमा हुनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले देशमा स्वरोजगारी र उद्यमशीलता विकासका लागि कोषले काम गर्दै आएको भन्दै आफूहरुले अनुदान नभएर सस्तो ऋणमार्फत् उद्यमशीलता विकास गरिरहेको उल्लेख गरे ।

‘हामीले सुर्ती र मदिराजन्य उद्योगबाहेक सबै प्रकारका व्यवसाय र स्वरोजगारका लागि बीउ पुँजी उपलब्ध गराउँछौं । यस्तो ऋणमा ब्याज अनुदान दिन्छौं, अरु खर्चमा लाग्ने लागतमा पनि अनुदान दिन्छौं, तर ऋण चाहिँ तिर्नुपर्छ,’ उनले भने, ‘प्राविधिक शिक्षाका लागि देशकै एकमात्र र उत्कृष्ठ रहेको यो संस्थासँग सहकार्य गर्न र यस्तो संस्थाले दिएको प्रमाणपत्रका आधारमा ऋण उपलब्ध गराउन हामी तयार छौं ।’
उनले श्रम बजारमा वार्षिक ५ लाख नयाँ जनशक्ति थपिने गरेकोमा धेरै नेपाली रोजगारीको लागि विदेशी भूमिमा पसिना बगाउने गरेको भन्दै उनले यस्तो अवस्थाको अन्त्य भएको दिन मात्रै यो सम्झौताले पूर्णता पाउने बताए ।
कार्यक्रममा सीटीईभीटी गण्डकी प्रदेशका प्रमुख प्रमोद आचार्यले परिषद्ले दिएको छोटो तथा लामो अवधिको तालिमसँगै उद्यमशीलता विकास गर्ने उद्देश्य एकैसाथ हासिल होस् भन्ने उद्देश्यले पाइलट प्रोजेक्टको रुपमा यो प्रक्रिया अघि बढाइएको बताए । उनले यसका लागि प्रदेश अन्तर्गत सबै स्थानीय तह तथा विभिन्न व्यवसायिक संघ संस्थासँग सम्झौता भइरहेको र हुने क्रममा समेत रहेको उल्लेख गरे ।

कार्यक्रममा सीटीईभीटीले छोटो अवधिको तालिम अन्तर्गत १ हजार ६ सय ९६ घण्टासम्मको तालिम तथा १८ महिनादेखि ३ वर्षसम्मको शैक्षिक पाठ्यक्रम अन्तर्गत तालिम दिने र सीप परीक्षणको काम गर्दै आएको जानकारी दिइएकाे थियाे ।



