काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेजको अनुगमन गर्दै प्रिन्सीपल रतिन्द्रनाथ श्रेष्ठलाइ बढी शुल्क नलिएको प्रमाणित गर्नुस्, अन्यथा कानुनअनुसार कारबाही हुने बताएका छन् ।
मन्त्री पौडेलले शुल्कका सम्बन्धमा भोलिसम्म रिपोर्ट पेश गर्न पनि निर्देशन दिएका छन् । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा बढी रकम कलेजले लिएको उजुरीपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित शिक्षामन्त्रीले अनुगमन गरेका हुन् । अनुगनका क्रममा मन्त्री पौडेलले चिकित्सा शिक्षा ऐन २०७५ को दफा १८ बमोजिम शुल्क निर्धारण गरेकाले बढी शुल्क लिन नपाउने बताए ।
‘भोलि बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा, विद्यार्थी अभिभावकसँग बसेर वार्ता गर्नुहोस्’ मन्त्री पौडेलले निर्देशन दिँदै भने । मन्त्री पौडेलसँगै केएमसी पुगेकी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुक्रबार बिहान साढे १० बजे विद्यार्थीसहित कलेज प्रशासनलाई बार्ताका लागि बोलाएकी छिन् ।
काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले बुधबारदेखि तालाबन्दी एवम् प्रदर्शन गर्दै आइरहेका छन् । बुधबार शिक्षा मन्त्रालयले विद्यार्थीसँग बढि शुल्क असुल गर्ने कलेजलाई कानुनी कारबाही गरी सम्बन्धन खारेज गर्ने चेतावनीसमेत दिएको थियो ।



