काठमाडौं । राष्ट्र बैंकको नीतिका कारण वाणिज्य बैंकमा एकैदिन ४९ अर्ब निक्षेप थपिएको छ । स्थानीय तहमा जाने सञ्चित कोषको रकम ८० प्रतिशत रकम बैंकिङ निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था भएसँगै बैंकहरुमा ४९ अर्ब रुपैयाँ निक्षेप थपिएको हो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले निक्षेप गणनासम्बन्धी नयाँ व्यवस्थाले बैंकहरुले थप चलाउन पाउने रकम ४९ अर्ब थपिएको भन्दै यसले कर्जा निक्षेप (सीडी) अनुपात केही सहज बनेको बताए ।
राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै आजदेखि निक्षेपमा गणना गर्न पाउने रकम बढाइदिएको थियो । अहिले स्थानीय तहले वाणिज्य बैंकमै खाता खोल्नुपर्ने भएका कारण यो व्यवस्थाबाट वाणिज्य बैंकहरु मात्रै लाभान्वित भएका छन् । थपिएको यस्तो रकम उत्पादनमूलक क्षेत्रमा मात्रै प्रवाह गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।



