काठमाडौं । आफ्नी श्रीमतीसँग महँगो शुल्क लिएको आक्रोशमा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) आश्मान तामाङले एउटा फिस हाउस सिल गरेका छन् । चितवनको दिव्यनगरस्थित आक्वा ब्रिडर्स नेपाल नामको सो फिस हाउसलाई सीडीओ तामाङको निर्देशनमा सिल गरिएको मत्स्य व्यवसायी संघ चितवनले जनाएको छ ।
आइतबार सीडीओ तामाङकी श्रीमती सो फिस हाउसमा माछा लिन गएकी थिइन् । सो हाउसले ३ सय ८० रुपैयाँ प्रतिकेजीका दरले बेच्दै आएको माछा उनलाई ३ सय रुपैयाँमा दिएर पठाएको थियो । तर, उनले २ सय ५० रुपैयाँमा दिन भनिन् । फार्म सञ्चालकले त्यो नमानेपछि उनले ३ सय रुपैयाँकै दरमा ५ किलोग्राम माछा लिएर गइन् ।
तर, साँझ ६ बजे सीडीओ तामाङकै नेतृत्वमा आएको टोलीले सो फार्म हाउस सिल गरेको हो । उक्त घटनाप्रति मत्स्य व्यवसायी संघ केन्द्रीय समिति र मत्स्य व्यवसायी संघ चितवनले भत्र्सना गरेको छ ।




