images
images

धान उत्पादन ५ वर्ष यताकै कम, कुन प्रदेशमा कति उत्पादन ?


  • 820
    SHARES
  • २०७८ पौष १९ गते सोमबार

    धान उत्पादन ५ वर्ष यताकै कम, कुन प्रदेशमा कति उत्पादन ?

    काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/७९ मा धान उत्पादनमा कमी आएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विगत ५ वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो । 

    मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालू आर्थिक बर्षमा धान उत्पादनमा ८.७४ प्रतिशतले कमी आएको छ । चालू आर्थिक बर्षमा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको छ । गत आर्थिक बर्षमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

    यस्तै, आर्थिक बर्ष २०७६/७७ मा ५५ लाख ५० हजार ८ सय ७८, आर्थिक बर्ष २०७५/०७६ मा ५६ लाख १० हजार र २०७४/७५ मा ५१ लाख ५१ हजार ९ सय २५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

    गत वर्षको तुलनामा मन्त्रालयले यसवर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरेता पनि धान थन्काउने बेलामा नै वर्षा र हावाहुरीका कारण धानमा क्षति पुग्दा उत्पादनमा कमी आएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए ।

    उनका अनुसार सुदूरपश्चिमका कैलाली र कञ्चनपुर तथा लुम्बिनी प्रदेशका बर्दिया, बाँके, कपिलवस्तु लगायत विभिन्न जिल्लामा बैमौसमी वर्षाले किसानको धानमा क्षति पुर्याउँदा समग्र राष्ट्रिय धान उत्पादनमा कमी आएको हो ।

    यसवर्षको बेमौसमी वर्षाले मुलुकभरका १ लाख ११ हजार ६ सय ९ हेक्टरमा लगाइएको ४ लाख २४ हजार १ सय १३ टन धानबालीमा क्षति पुर्याएको मन्त्रालयले जनाएको छ ।

    कुन प्रदेशमा कति उत्पादन ?

    प्रदेशगत रुपमा धान उत्पादनको अवस्था हेर्दा गत आर्थिक बर्षको तुलनामा यस वर्ष गण्डकी प्रदेशबाहेक अन्य प्रदेशमा धान उत्पादन घटेको छ । 

    मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको तुलनामा सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा कमी आएको छ । उक्त प्रदेशमा ४ लाख ४१ हजार ९ सय १३ मेट्रिक टन धान उत्पादन भएको हो । यो गत आर्थिक बर्षको तुलनामा ३१.४९ प्रतिशतले कम हो ।  

    यस्तै, लुम्बिनी प्रदेशमा १८.३८ प्रतिशत, प्रदेश १ मा ०.९३ प्रतिशत, प्रदेश नं २ मा ५.२४ प्रतिशत, बागमती प्रदेशमा ०.३५ प्रतिशत र कर्णालीमा ८.७६ प्रतिशतले उत्पादनमा कमी आएको छ । चालू आर्थिक बर्षमा गण्डकी प्रदेशमा मात्र २.३३ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । 

    यसवर्ष धान रोप्ने समयमा नै मनसुन सक्रिय हुँदा १४ लाख ७७ हजार ३ सय ७८ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । तर धानबाली भित्र्याउने समयमा आएको हावाहुरी र बाढीका कारण क्षति पुग्दा समग्रमा धानको उत्पादन घटेको हो । 


    images
    images

    Logo