काठमाडौँ । सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धारका लागि मेची महाकाली यात्रामा रहेको मानवसेवा आश्रमको टिमले पहिलो दिन ५ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरेको छ ।
१८ गते विहान महाकाली पुलबाट यात्रा सुरुवात यात्रीहरुको टिमले पूर्व पश्चिम राजमार्गको यात्राको क्रममा ५ जना वास्तविक सहयोगापेक्षीको उद्धार गरिएको यात्री स्वस्तिका भट्टराईले बताए ।
उद्धार गरिएका ५ जना मध्ये एक जना कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका वडा नं.३ बाट, दोश्रो कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका चिसापानी स्थित कर्णाली पुलबाट, तेश्रो कैलालीकै झलारी शुक्लाफाँटा नगरपालिकाबाट, चौथो दाङको लमही नगरपालिका वडा नं. ९ बाट र पाँचौ व्यक्ति लमही नगरपालिका वडा नं. ३ बाट उद्धार गरिएको हो ।
उद्धार गरिएका पाँच जना नै मानसिक रुपमा अस्वस्थ रहेको र विशेष गरि उनीहरु सबैजनालाई स्वास्थ्य उपचार पश्चात परिवार भेटिएको अवस्थामा पारिवारिक पुनर्मिलन गरिने भट्टराईको भनाई छ ।
मानवसेवा आश्रमले सडकपेटी र सार्वजनिक स्थलमा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गर्दै आइरहेको छ ।



