images
images

मासिक ३ अर्ब ७० करोड घाटामा आयल निगम, ग्यासमा मात्र २ अर्ब


  • 388
    SHARES
  • २०७८ पौष १८ गते आइतबार

    मासिक ३ अर्ब ७० करोड घाटामा आयल निगम, ग्यासमा मात्र २ अर्ब

    काठमाडौं । नेपाल आयल निगम अझै मासिक ३ अर्ब ७० करोड घाटामा रहेको देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर उच्‍च विन्दुमा पुग्दा मासिक ६ अर्ब भन्दा माथि नोक्सानी व्यहोरेको निगमले अन्तर्राष्ट्रिय मूल्य घट्दै जाँदा पनि सो बराबर नोक्सानीको अवस्थामा रहेको हो । पछिल्लो समय फेरि कच्चा तेलको मूल्य बढ्न थालेपछि मूल्यवृद्धिमा थप दबाब देखिएको सरोकारवालाहरुको भनाइ छ । 

    नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको आयात गर्छ । जनवरी १ गते पठाएको नयाँ मूल्यमा ग्यासको मूल्य प्रति सिलिन्डर झण्डै १०० रुपैयाँ घटेर आउँदा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य भने बढेको छ । बिहीबार राजधनीमा आयोजित एक कार्यक्रममा निगमका अधिकारीहरुले यही मूल्‍यकाबीच निगम साढे ३ अर्ब भन्दा धेरै नोक्सानीमा रहेको विवरण सार्वजनिक गरेका हुन् ।

    नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार राजधानीमा आयोजना गरेको ‘पेट्रोलियम पदार्थको सहज आपुर्ति र स्वचालित मुल्य प्रणाली’ विषयक कार्यक्रममा उनीहरुले बढ्दो नोक्सानका कारण मूल्य स्थिरीकरण कोष प्रभावहीन भएका कारण सो कोषलाई नचलाई अहिलेको नोक्सानलाई सञ्चित नाफाबाट ब्यहोरिरहेको बताए । यद्यपि निगमले दीर्घकालसम्म यस्तो नोक्सान व्यहोर्न सक्ने अवस्था नभएको उनीहरुको दाबी छ । 

    कार्यक्रममा नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष समेत रहेका उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पाैडेल, नायव कार्यकारी निर्देशक नागेन्द्र साह, निर्देशक भरत रेग्मी लगायतको सहभागिता थियो । कार्यक्रममा सचिव भट्टराईले आयल निगम नाफामूलक नभएर सेवामूलक संस्था भएको बताए । उनले निगमले गर्ने नाफा सरकारकै कोषमा जाने भएकोले यसले सबैलाई फाइदा गर्ने दाबी गरे । तर, निगम नोक्सानमा  जाँदा पेट्रोलियम पदार्थ आपूर्तिमा प्रभाव पर्ने भएकोले यसको असर जनतामै पर्ने उनको भनाइ छ । 

    उनले निगममा ९९ प्रतिशत शेयर सरकारको रहेकाले निगम पारदर्शी रहेको बताए । स्वचालित मुल्य प्रणाली लागु गर्दा उपभोक्तालाई थप मार पर्ने भएकाले पुर्णरुपमा कार्यान्वयन गर्न नसकिएको बताउँदै उनले अर्थतन्त्रका आयाम र जनजीवनमा असर नपर्ने र निगम जीवित रहने गरी मुल्य समायोजन गरिँदै आएको बताए ।

    नेपाल आयल निगमले पेट्रोलिय पदार्थमा मुल्य बृद्धि गर्दा जनताले निगम प्रति नकारात्मक धारण राख्ने हुँदा निगम माथि जनतामा गतल धारणा सिर्जना हुनेगरी रिपोर्टिङ नगरिदिन सचिव भट्टराईले पत्रकारलाई आग्रह गरे ।

    कार्यक्रममा निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा इन्धन मुल्य बढेको र इन्धनमा लगाइएको राजस्वका कारण मुल्य बढ्न गएको भन्दै यही कारणले निगम ठूलो नोक्सानीको अवस्थामा पुगेको उल्लेख गरे । 

    कर्मचारी बोनसवापत छुटाएको रकम  र कर्मचारी अवकाश कोषमा जम्मा भएको रकम इन्धन खरिदमा सकिएकाले अब कोषमा भएको रकम खर्च गर्नुपर्ने अवस्थामा आएको उनले जानकारी दिए ।  निगमले २०५८ साल देखि कर्मचारीलाई बोनस रकम वितरण नगरेको उनले जानकारी दिए । निगमसँग इन्धनको भण्डारण क्षमता न्यून भएकाले भण्डारण क्षमतासँगै अन्य पुर्वाधारका काम अगाडि बढाइरहेको उनले जानकारी दिए ।  

    कार्यक्रममा पेट्रोलियम पदार्थको आपुर्तिको अवस्था, स्वचालित मुल्य प्रणालीको सान्दर्भिकता र पेट्रोलियमको आपूर्ति तथा भण्डारसम्बन्धी पुर्वाधार विकास र भविष्यको प्रक्षेपण, पेट्रोलियम पदार्थको समसामयिक विषयवस्तु र ऊर्जाको सुरक्षा विषय कार्यपत्र प्रस्तुत गरिएको थियो ।

    कार्यपत्रमा अब निगमसँग तेल खरिद गर्न १३ अर्ब १० करोड रुपैयाँ मात्र रहेको जनाइएको छ । जबकी मासिक ३ अर्ब ७० करोड नोक्सान हुँदा यसले ४ महिनाको आपूर्ति धान्न समेत सक्दैन । अहिले ग्यासमा मात्रै मासिक २ अर्ब नोक्सान रहेको कार्यपत्रमा उल्लेख गरिएको छ । त्यस्तै, पेट्रोलमा मासिक ६८ करोड र डिजेल ८२ करोड नोक्सानको अवस्था छ ।


    images
    images

    Logo