काठमाडौं । कोभिड–१९ महामारीको असहज परिस्थितिको अवस्थामा पनि मुलुकमा बाह्य पर्यटक आगमनमा झिनो सुधार भएको पाइएको छ । सन् २०२१ मा डेढ लाख बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाइ तथा भूमार्ग हुँदै १ लाख ५० हजार ९ सय ६२ जना पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२० को तुलनामा गत वर्ष नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा २५ प्रतिशतले कमी आएको छ ।
बोर्डका निर्देशक मणि लामिछानेले कोभिड महामारीकाबीच पर्यटक आगमनमा झिनो सुधार आएको बताए । उनले अघिल्लो वर्षको तुलनामा पर्यटक सङ्ख्या कम देखिनुमा उक्त वर्ष कोभिड–१९ पूर्व नै जनवरी र फेब्रुअरीमा उल्लेख्य सङ्ख्यामा बाह्य पर्यटक आएका थिए । सन् २०२० मा २ लाख ३० हजार बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ मा भने नेपाल भित्रिने बाह्य पर्यटकको सङ्ख्या ११ लाख ९७ हजार १ सय ९१ थियो । जुन १२.५ प्रतिशतले बढी हो ।
नेपाल भित्रिएका पर्यटकमध्ये सबैभन्दा बढी भारतीय छन् । वर्षभरीमा ६४ हजार ६ सय ७३ भारतीय नागरिकले नेपाल भ्रमण गरेका थिए । भारतपछि अमेरिकाबाट २२ हजार ८ सय ५३ पर्यटक नेपाल आएका थिए । संयुक्त अधिराज्य (बेलायत) बाट ८ हजार ६ सय ८० पर्यटक आएका थिए । छिमेक मुलुक चीनबाट ६ हजार १ सय ९६ तथा बङ्गलादेशबाट ५ हजार ४४ पर्यटक नेपाल भ्रमणमा आएको बोर्डको विवरणमा उल्लेख छ ।



