images
images

चितवनमा जलपंक्षी गणना ५ तारिखदेखि


  • 359
    SHARES
  • २०७८ पौष १८ गते आइतबार

    चितवनमा जलपंक्षी गणना ५ तारिखदेखि

    चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा जनवरी ५ तारिखदेखि हिउँदे आगन्तुक जलपक्षी गणना गरिने भएको छ ।

    नेपालमा हरेक वर्ष जनवरी १ बाट १६ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ । नेपालका १५ ठाउँका ६० सिमसार खण्डमा जलपक्षी गणना गरिन्छ । 

    जनवरी १ बाटै कोशी नदी, घोडाघोडी ताल र शुक्लाफाँटाका ताल तलैयामा गणना थालिएको भए पनि अन्य क्षेत्रमा क्रमशःगणना गर्न लागिएको हो । 

    वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष रमेश चौधरीका अनुसार चितवनमा ५ तारिखदेखि जलपक्षी गणना गरिँदै छ । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत ठाउँमा चरा गणना गरिने छ । 

    चौधरीका अनुसार लोथर खोलादेखि कसराघाटसम्मका विभिन्न क्षेत्र, निकुञ्जभित्रका लामिताल, तमोर ताल, पटना ताल, भण्डाराको मत्स्यपालन, बुढी राप्तीको चित्रसारी पुलबाट राप्ती दोभानसम्म पहिलो दिन गणना गरिने छ ।

    त्यसैगरी ६ तारिखमा विषहजारी ताल र आसपासका तालम गणना गरिने छ । छुटपुटका ठाउँमा ७ तारिखमा गणना गरिने छ ।

    यस्तै पश्चिम चितवनमा ७ तारिखमा चरा गणना गरिंदै छ । नेपाल चराविज्ञ सङ्घका प्रतिनिधि हठन चौधरीका अनुसार राप्ती नदीको घठगाईदेखि गोलाघाटसम्म, नारायणीको पूर्वी भङ्गला, नारायणीकै गाजापुरदेखि गोलाघाटसम्म र  दिव्यनगरका घोल एवं फाँटमा चरा गणना गरिने छ । 

    वर्ड एजुकेशन सोसाइटीको अगुवाइमा विभिन्न सङ्घ संस्थाको सहयोगमा गणना गर्न लागिएको हो । सोसाइटी चितवनका अध्यक्ष रमेश चौधरीले बाइनाकुलार क्यामेरा, जिपिएस, साउण्ड रेकडरलगायतको प्रयोग गरी चराको गणना गरिने बताए ।

    गतवर्ष चितवनमा ५५ प्रजातीका ९ हजार ५ सय ६५ चरा भेटिएको उनले जानकारी दिए । नेपालमा सन १९८७ बाट चरा गणना थालिएको हो ।

    गणनाको नेतृत्व गर्दै आउनुभएका पक्षी विशेषज्ञ डा हेमसागर बराल चराको सङ्ख्या, अवस्था, सिमसारको अवस्था, चराले भोग्नु परेका बाधा व्यवधानलगायतको अध्ययन यसै क्रममा गरिने बताए ।

     चराका बासस्थानमा माछा मार्ने, तालतलैया फुटाएर सिँचाइ गर्ने, चोरी शिकार गर्ने, डुङ्गा चलाउने जस्ता समस्या देखिने भएकाले तिनीहरुको अवस्था बुझ्न गणना महत्वपूर्ण हुने उनको भनाइ छ ।देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउन गणना उपयोगी हुने गर्दछ । 

    उनका अनुसार अगष्टको अन्तिम साताबाट जाडो छल्न जलपक्षी नेपाल आउन थाल्दछन् । अक्टोबरको अन्तिम साता ठूलो सङ्ख्यामा चरा आउने र डिसेम्बरसम्म आइरहन्छन् । 

    मार्चबाट फर्कन सुरु गर्ने उनले जानकारी दिए । नेपालमा जलपक्षी ठूलो सङ्ख्यामा चीनबाट आउने गर्दछन् । 

    मङ्गोलिया, रुसको दक्षिणी भाग, साइबेरिया, मध्य एशियालगायतका ठाउँबाट धेरै चरा आउँछन् भने पूर्वी युरोपबाट निकै कम चरा आउने उनले जानकारी दिए ।  

    नेपालमा मात्रै नभएर एशिया क्षेत्रमा नै यही समयमा चरा गणना गरिन्छ ।  फोटो ग्राफरको पनि गणनामा सहभागिता हुने गर्दछ । चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गरिन्छ । 


    images
    images

    Logo