काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खाडी मुलुक कतारलाई केही वर्षमै नेपालीले विकसित बनाइदिएको भन्दै अब नेपालीले नेपाललाई नै बदल्न लाग्नुपर्ने बताएका छन् ।
शुक्रबार एमाले आयोजना गरेको स्वदेश फर्किएका नेपालीहरुको प्रतिनिधिमूलक राष्ट्रिय भेलामा बोल्दै उनले नेपालीले आफ्नै देश बनाउने अवसर भने नपाएको बताए ।
उनले देशलाई द्वन्द्वमा लगेर विकासलाई अवरोध पुर्याएको भन्दै माओवादीको कटाक्ष गरे । ‘गाउँमा बस्न सुरक्षित भइएन, सदरमुकाम सर्नुपर्यो । सदरमुकाम पनि सुरक्षित भएन, काठमाडौं सर्नुपर्यो । काठमाडौं पनि सुरक्षित भएन, विदेशमा गएपछि अलि सुरक्षित भइयो ।
यही कारण नेपाली विदेश जानुपर्यो,’ ओलीले भने, ‘विदेशबाट माटो ल्याएर, विदेशबाट पानी ल्याएर नेपालीले कतार, दुबई, साउदीलाई कहाँबाट कहाँ पुर्याए, नेपाललाई बदल्ने अवसर पाएनन् ।’
उनले आफू प्रधानमन्त्री भएपछि विदेश जानेको संख्या घटेको र आउनेको संख्या बढेको दाबी समेत गरे । अहिले गाउँगाउँमा पूर्वाधार पुगिसकेको भन्दै अब जीवन हुने यही ठाउँमा जीवन खोज्न उनले आह्वान गरे ।
नेपाली विदेश जाने प्रवृत्तिले नेपालको जमीन बाँझै बसेकमो भन्दै उनले चामल र चिनी बाहिरबाट ल्याउने अनि खाली ठाउँमा सिसौ लगाउने प्रवृत्ति गलत भएको बताए ।



