images
images

काभ्रेमा ३० प्रतिशतले गराए स्वास्थ्य बीमा


  • 750
    SHARES
  • २०७८ पौष १६ गते शुक्रबार

    काभ्रेमा ३० प्रतिशतले गराए स्वास्थ्य बीमा

    काभ्रेपलाञ्चोक ।  आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नदिन सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम काभ्रेपलाञ्चोकमा प्रभावकारी बन्दै गएको छ । 

    यस कार्यक्रमअन्तगर्त जिल्लामा हालसम्म करिब ३० प्रतिशत नागरिकले बीमा गराएका छन् । जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका अनुसार २९ दशमलव ८० प्रतिशत अर्थात् १ लाख ५ हजार ८२ जनाले स्वास्थ्य बीमा कार्यक्रममा सहभागिता जनाएका हुन् । बीमित उक्त सङ्ख्या अघिल्लो जनगणना अनुसार हो । 

    स्वास्थ्य बीमा बोर्डको जिल्ला प्रमुख मुना निरौलाका अनुसार काभ्रेपलाञ्चोकमा स्वास्थ्य बीमा कार्यक्रमप्रति आकर्षण बढ्दै गएको पाइएको छ । 

    उनले ९ हजार ५ सय ३५ परिवारले बीमा नवीकरण गरिरहेको बताए । “बीमा नवीकरण गराउनेको सङ्ख्या दैनिक बढिरहेको छ”, उनले भने । उनका अनुसार नयाँ व्यक्तिसमेत स्वास्थ्य बीमा कार्यक्रममा सहभागिता जनाइरहेका छन् । 

    बोर्डका अनुसार हालसम्म बनेपा नगरपालिकाका २३ हजार ३ सय ११, धुलिखेल नगरका २२ हजार ६ सय ८९, पनौती नगरका १७ हजार १ सय १४, पाँचखाल नगरका १२ हजार ९सय ६, मण्डनदेउपुर नगरका १० हजार २ सय ४९, नमोबुद्ध नगरका ५ हजार ९ सय ८६ ले स्वास्थ्य बीमा गराएको जनाइएको छ ।

    यस्तै, भुम्लु गाउँपालिकाका ३ हजार ६ सय १०, रोशीमा २ हजार ४ सय ५७, बेथानचोकमा २ हजार ८७, चौँरीदेउरालीमा १ हजार ६ सय २८, तेमालमा १ हजार ३ सय ५२, महाभारतमा १ हजार ७० र खानीखोला गाउँपालिकामा ६ सय २४ ले स्वास्थ्य बीमा गरेको बोर्डले जनाएको छ । 

    बोर्डको तथ्याङ्कअनुसार सबैभन्दा बढी जिल्ला सदरमुकाम धुलिखेलका ७० दशमलब ५४ प्रतिशत नागरिकले स्वास्थ्य बीमा गरेका छन् भने सबैभन्दा कम बीमा गराउनेमा खानीखोला गाउँपालिकाको ४ दशमलव ३३ प्रतिशत रहेका छन् ।

    यस्तै, बीमितमध्ये ६ हजार २ सय ८८ ज्येष्ठ नागरिक छन् । ४ सय ३५ स्वास्थ्य स्वयंसेविका, ५३ एचआइभी सङ्क्रमित परिवार, २४ कुष्ठरोगी परिवार, ४ सय ९ पूर्ण अपाङ्गता भएका परिवार रहेको बोर्डले जनाएको छ । जिल्लामा बीमाबापत  ११ करोड ३५ लाख ४३ हजार ४ सय रुपैयाँ सङ्कलन भएको छ । 

    सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत छुट तथा पूर्ण अपाङ्गता भएका परिवार र एचआइभी सङ्क्रमितको परिवारलाई भने निःशुल्क बीमा गर्ने प्रावधान छ । 

    बीमा कार्यक्रमका लागि प्रत्येक वडामा एक दर्ता सहयोगी व्यवस्थापन गरिएको छ । ६ नगरपालिका र ७ गाउँपालिका रहेको काभ्रेपलाञ्चोकमा १ सय ३५ वडा छन् ।

    जिल्लामा सदरमुकामको धुलिखेल अस्पताल, मेथिनकोट प्रदेश अस्पताल, रेयुकाई मासुनागा अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र पाँचखाल, धुलिखेल र खोपासीमा बीमित व्यक्तिले उपचार गराउने व्यवस्था मिलाइएको छ । 

    उपचारको क्रममा स्वास्थ्य संस्था तथा अस्पतालबाट व्यहोर्नुपरेको विभिन्न उल्झन र झण्झटिलो व्यवस्थाको अन्त्य तथा उपचारका क्रममा अन्य बिरामीभन्दा स्वास्थ्य बीमा गर्नेलाई पहिलो प्राथमिकता दिएमा स्वास्थ्य बीमाप्रति आमनागरिकको चासो बढ्ने बताएको छ । 

    बीमा गरेका नागरिकले तोकिएका अस्पतालमा उपचार गराउन जाँदा कहिले विवरण नमिलेको कारण देखाउँदै त कहिले विभिन्न बहाना बनाएर उपचारमा कम प्राथमिकता दिएको गुनासो बीमितहरुको छ ।

     “त्यस्तो गुनासो आएपछि त्यसलाई व्यवस्थित गर्न सम्बन्धित अस्पतालमा आग्रह गरिएको र त्यसपछि सेवामा सुधार आएकाले नवीकरण गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको छ”, प्रमुख निरौलाले भने, “अझै पनि त्यसलाई व्यवस्थित गर्दै जाने हो भने नवीकरण गर्नेको सङ्ख्यामा वृद्धि हुँदै जान्छ ।” 


    images
    images

    Logo