काठमाडौं । विगत केही दिनदेखि काठमाडौं उपत्यकामा पटक पटक बिजुली जाने समस्या देखिएको छ । वर्षा सुरु हुनुभन्दा केही दिन अगाडि र वर्षा सुरु भएपछि समेत सूचना नै नदिई बजिुली जाने समस्या देखिएको छ । यही समस्या व्यापक बनेपछि शुक्रबार विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरेका छन् ।
विद्युत् आपूर्तिमा किन भयो समस्या ?
कार्यकारी निर्देशक घिसिङले काठमाडौंका ५०/६० वटा ट्रान्सफर्मरमा समस्या देखिएको स्वीकार गरेका छन् । सिंहदरबार, बानेश्वर, रत्नपार्क, महाराजगञ्ज लगायत ठाउँमा समस्या देखिएको उनले बताए ।
यसरी समस्या देखिनुमा ट्रान्सफर्मर परिवर्तन मुख्य कारण रहेको उनको भनाइ छ । उच्च भारमा विद्युत् आएपछि ट्रान्सफर्मर परिवर्तन गर्नुपरेको तथा केही ठाउँमा ट्रान्सफर्मरमा आगलागी समेत भएको उनको भनाइ छ
‘हाइ भोल्टेज आएपछि ट्रान्सफर्मर फेर्नुपर्छ । एउटा ट्रान्सफर्मर फेर्दा फिडरकै विद्युत् सप्लाई बन्द गर्नुपर्छ । अहिलेको समस्या यही हो । आज बेलुकीसम्म सबै ट्रान्सफर्मर फेरिसक्छौं, त्यसपछि समस्या हुँदैन,’ घिसिङले भने ।
उनले ट्रान्सफर्मर फेर्न समस्या नभएर पनि नयाँ ट्रान्सफर्मर राख्न निकै समस्या भएको गुनासो गरे । ‘ट्रान्सफर्मर राख्न स्थानीयले विरोध गर्छन्, कार्यालयले पनि विरोध गर्छन्’ घिसिङले भने, ‘ट्रान्सफर्मर फेर्न जति सजिलो छ, नयाँ राख्न त्यति नै गाह्रो छ । तर हामी काठमाडौंका विभिन्न ठाउँमा नयाँ ट्रान्सफर्मर थप्ने तयारीमा छौं ।’
उनले अपर तामाकोशी आएपछि विद्युत् आपूर्ति निकै सहज भएको बताउँदै अहिले आपूर्ति व्यवस्थापनमा कुनै समस्या भएको समेत दाबी गरे ।
कम भोल्टेज आउनुको कारण
अहिले बत्ति नगएका कतिपय ठाउँमा पनि तोकिएको भोल्टेज बराबर बिजुली नआउँदा विद्युतीय सामानहरु नचलेको गुनासो समेत आउने गरेको छ । कुलमानले भने यस्तो समस्या सर्भिस लाइन तोकिएको भन्दा लामो भएका ठाउँमा देखिने गरेको बताउँछन् ।



