काठमाडौँ । कुमारी बैको सिस्टम ह्याक गर्ने चेतावनीपछि बैंकिङ क्षेत्रमा त्रास देखिएको छ । अज्ञात समूहले साउदी ग्रुप अफ कम्पनी नामबाट बिहीबार इमले गर्र्दै कुमारी बैकको सिस्टम ह्याक गर्ने चेतावनीयुक्त पत्र पठाएको थियो ।
कुमारी बैकले ह्याक गर्ने चेतावनीयुक्त इमेल पाएपछि राष्ट्र बैंकलाई यसबारे जानकारी गराएको थियो । लगत्तै राष्ट्र बैंकले पनि मातहतका सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई सचेतना अपनाउन सर्कुलर गरेको थियो । पठाइएको इमेलमा प्रणाली ह्याक गरेर पैसा लैजाने कुरा उल्लेख छ ।
राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले इमेल आएपछि उच्च सतर्कता अपनाइएको बताए । उनले निक्षेपकर्ताको रकम बैंकमा सुरक्षित रहेको र सुरक्षित रहने भन्दै कोही पनि डराउनु नपर्ने उल्लेख गरेका छन् ।
गत साउनमा पनि नेपाल राष्ट्र बैंकसहित १५ वाणिज्य बैंकको सिस्टम ह्याक गर्ने चेतावनीपूर्ण सन्देश सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यतिबेला नेपाल राष्ट्र बैङ्कका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको इमेलको स्क्रिनसट धेरैका हातहातमा पुगेपछि यसले सर्वसाधारणलाई आतंकित बनाएको थियो ।
त्यसबेला इमेल साथै सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज आएको थियो भने राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख एवं प्रवक्ता देवकुमार ढकाललाई अन्तर्राष्ट्रिय नम्बरबाट फोनसमेत आएको थियो ।
यद्यपि त्यतिबेला कुनै सिस्टम ह्याक भने भएन । त्यतिबेला त्रसित भएको बैंकिङ क्षेत्र कुमारी बैंक प्रकरणपछि फेरि सतर्क बनेको छ ।



