images
images

हिमपातको कारण केरुङतर्फको आयात प्रभावित


  • 424
    SHARES
  • २०७८ पौष १६ गते शुक्रबार

    हिमपातको कारण केरुङतर्फको आयात प्रभावित

    काठमाडौं । बुधवार बिहानदेखि लगातार भएको हिमपातका कारण केरुङबाट रसुवागढीतर्पm आउने कन्टेनर बाटोमै रोकिएका छन् । नेपाल ल्याउन चीनको केरुङस्थित गोदाममा राखिएको सामान हिमपातका कारण लोड गर्न सकिएको छैन ।

    लोड भएर रसुवागढीतर्फ हिँडेका कन्टेनर पनि केरुङमै रोकिएका छन् । व्यवसायीहरूका अनुसार लोड भएर रसुवागढीतर्फ आउन लागेका कन्टेनरमा रेडिमेड कपडा र जुत्ताचप्पल रहेका छन् । हिमपातका कारण धिङ्ग्री, झोङ्गालगायत ठाउँमा पनि सडक अवरुद्ध हुँदा केरुङ आउन लागेका कन्टेनर उतै रोकिएका छन् ।

    केरुङमा करीब ३ फिटभन्दा बढी हिउँ परेको बताइएको व्यवसायी पुरुषोत्तम पौडेलले बताए । ‘पहिलेको भन्दा धेरै हिउँ परेको छ, अहिले सामान लोड गर्ने स्थिति छैन भन्ने खबर आएको छ,’ उनले भने, ‘हिउँ छ, यातायात अवरुद्ध भएको छ, अब कति दिन लाग्छ भन्ने यकिन छैन ।’

    अर्का व्यवसायी शारदाप्रसाद पराजुलीका अनुसार हिमपातका कारण अबको केही दिन आयातमा प्रभावित हुने देखिएको छ । चिनियाँ पक्षले दैनिक ९ कन्टेनरमार्फत रसुवागढीतर्फ आउन दिने गरेको थियो ।  

    मंगलवार बेलुका नै नाकाको पारी पुगेका ७ कन्टेनरले बुधवार बिहान रसुवागढीसम्म सामान ल्याएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख रामप्रसाद मैनालीले बताए । ‘बुधवार बिहान ७ चिनियाँ कन्टेनरमार्फत सामान आयात भएको छ, बेलुकी दुई कन्टेनर आउने गथ्र्यो । तर, बुधवार दिउँसो र बिहीवार आएनन्, चिनियाँ पक्षले हामीलाई केही जानकारी गराएको छैन,’ उनले भने ।

    चीनतर्फ बाक्लो हिमपात भएका कारण हरेक वर्ष नेपाल आयात हुने सामान रोकिने गरेको छ भने रसुवाको उच्च हिमाली भेगसहित गोसाइँकुण्ड, चन्दनबारी, ठूलोस्याफ्रुको, लाङटाङ, नाकथली तातोपानी गत्लाङ, तथा सदरमुकाम धुन्चेसमेतमा हिमपात भएको छ ।

    राम्चे, स्याउबारी, उत्तरगया गाउँपालिकाको तिरू एवं नौकुण्ड गाँउपालिकाको यार्सा, घाङमर, दोक्लाङमा समेत हिमपात हुँदा त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

    कहिले हिमपात, कहिले पहिरोका कारण रसुवागढी नाकामा आयात प्रभावित हुने गरेको छ । कोरोना महामारीलाई कारण देखाउँदै चीनले सामान नेपाल पठाउन कडाइ गर्दै आएको छ ।

    रसुवागढी नाकाबाट केरुङसम्मको दूरी २४ किमी छ । चीनबाट नेपालतर्फ तयारी कपडा, स्याउ, रबर, प्लास्टिकका जुत्ताचप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्रीलगायत वस्तु आयात हुने हुने गर्छ । नेपालबाट चीनतर्फ धातुको मूर्ति, शृंगारका सामान, ऊनी, गलैंचा, कार्पेट, भाँडाकुँडालगायत मुख्य वस्तुहरू निकासी हुने गरेको छ । आर्थिक अभियान दैनिकबाट


    images
    images

    Logo