images
images

२०२१ को शेयर बजार : धमाकेदार इन्ट्रिदेखि अलटाइम हाइसम्म


  • 1.2K
    SHARES
  • २०७८ पौष १५ गते बिहीबार

    २०२१ को शेयर बजार : धमाकेदार इन्ट्रिदेखि अलटाइम हाइसम्म

    काठमाडौं । सरकारले आकस्मिक रुपमा बिदाको घोषणा गरेको थिएन भने आज (बिहीबार) शेयर बजार कारोबारको लागि वर्षको अन्तिम हुने थियो । तर, तमु ल्होसारको पर्व मनाउन सरकारले सार्वजनिक बिदाको घोषणापछि बुधबारको कारोबारबाटै बजारले २०२१ लाई बिदा गरेको छ । अब आउँदो आइतबार बजार खुल्दा यो साल हामीबाट बिदा भइसकेको हुनेछ । 

    यो अवधिमा बजारमा २ सय ३८ दिन कारोबार भयो । यो अवधिमा बजारमा १८ खर्ब ८५ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । इतिहासकै उच्च कारोबार रकम हासिल भएको यो अवधिमा बजार परिसूचकले भने निकै ठूलो उतारचढावको सामना गर्नुपरेको छ । 

    धमाकेदार इन्ट्रि

    नयाँ वर्षको पहिलो कारोबार  दिन अर्थात् जनवरी ३ तारिखका दिन बजारमा लगानीकर्ताको एउटा ढुकढुकी थियो, बजारले नयाँ वर्षलाई कसरी स्वागत गर्छ भन्ने । बजारको सामान्य नियम नै हुन्छ, अघिल्ला दिनहरुमा बजार बढ्दै जान्छ भने अर्को दिन घट्ने सम्भावना बढी हुन्छ । त्यस्तै, अघिल्ला दिनहरुमा बजार घट्दै जान्छ भने अर्को दिन बढ्ने सम्भावना बढी हुन्छ ।

    सन् २०२० को अन्तिम ४ वटा कारोबार दिनमा झन्डै ८८ अंकको वृद्धि हासिल गरेको थियो । यो वृद्धिले नयाँ वर्षको पहिलो दिन प्रतिरोधको काम गर्ने सम्भवना त्यतिकै थियो । तर, पहिलो दिन बजारले धमाकेदार सुरुवात गर्यो । त्यो एकै दिन बजार परिसूचक ८८ अंकले बढेर पहिलोपटक २ हजार १ सय बिन्दुमा बन्द भएको थियो । 

    सुखद सुरुवातको पहिलो ३ महिनासम्म बजारले पछाडि फर्केर हर्नु परेन । सामान्य उतारचढाव हुने बजारको नियमलाई आत्मसात गर्दा यो अवधिमा मात्रै बजारले झन्डै ५ सय अंकको वृद्धि हासिल गर्न सफल भएको थियो । 

    यसको २ महिनासम्म बजार सामान्य अवस्थामै सञ्चालन भयो । तर, जब निषेधाज्ञाको नाममा दोस्रोपटक जब लकडाउन भयो, त्यसपछि भने बजारले फेरि उच्च गति समात्यो । 

    पहिलोपटक लकडाउनका शेयर बजार पूर्ण रुपमा बन्द गरिएको थियो । पूर्वाधारको अभावका कारण शेयर बजार बन्द गरिँदा मानिसहरु महामारीको निकै ठूलो त्रासमा गुज्रिएका थिए । कारोबार खुला भएकै भए पनि त्यो बेला बजारले सकारात्मक गति लिने अपेक्षा थिएन । 

    तर, दोस्रोपटक निषेधाज्ञा जारी हुँदा भने मानिसमा एक प्रकारको कन्फिडेन्टको विकास भइसकेको थियो । महामारी नै अन्त्य होइन भन्ने बुझाइपछि मानिसहरु फेरि गतिविधि गर्न थालेका थिए । सोही कारण करिब साढे २ महिनाको निषेधाज्ञाको अवधिमा दोस्रो बजारमा नयाँ लगानीकर्ताको सहभागिता उच्च देखियो । यसले बजारको वृद्धिलाई थप बल पुर्यायो यद्यपि यो अवधिमा बजारले झन्डै ३ सय अंकको वृद्धि मात्रै हासिल गर्न सक्यो । 

    असार २९ गते तात्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन भइ शेरबहादुर देउवा नेतृत्वको सरकार बन्यो । तर, सरकार परिवर्तनको यो अवस्थामा नेप्सेले उच्च गतिका बाटो समात्यो । फलस्वरुप भदौ ३ गते नेप्से ३ हजार २ सय ८ दशमलव ५३ को बिन्दुमा रोकियो । सोही दिन नेप्से परिसूचक ३ हजार २ सय २६ दशमलव ८९ विन्दुसम्म पुगेको थियो । यो नै नेप्सेको अलटाइम हाइ विन्दु थियो ।

    यो विन्दुपछि भने नेप्से परिसूचक गिरावटको बाटोमा गयो । सबैभन्दा उच्च बिन्दुमा पुगेको ८ वटा कारोबार दिनमै नेप्सेले झmन्डै ४ सय अंकको क्षति व्यहोर्नु परेको थियो । तर, लगत्तै नेप्सेले एकैदिन १ सय ६१ अंकको उछाल कायम समेत गर्न सफल भएको थियो । यो वृद्धि अहिलेसम्मकै सर्वाधिक वृद्धि समेत हो । 

    भदौपछि भने विभिन्न नियामकीय व्यवस्थालाई देखाउँदै बजार घट्ने क्रम सुरु भयो । मौद्रिक नीतिमा आएको ४÷१२ करोड ऋणको सीमासम्बन्धी नीति, नेपाल धितोपत्र बोर्डले जोखिमपूर्ण कम्पनीको सूची सार्वजनिक गर्नु लगायत कारण देखाउँदै बजारलाई घटाउने र फेरि बढाउने क्रम चलेको थियो । यही कारण लगानीकर्ता त्रसित हुँदा बजारले झन्डै ३ सय अंकको थप क्षति व्यहोर्नु परेको छ । 

    बजारमा रेकडै रेकर्ड

    यो वर्ष शेयर बजारका लागि रेकडै रेकर्डको वर्ष भयो । परिसूचक, घटबढ, कारोबार रकम, बजार पुँजीकरण, लगानीकर्ताको प्रवेश लगायत धेरै पक्षबाट यो वर्ष शेयर बजार ऐतिहासिक बन्न पुगेको छ । 

    बजारले ३ हजार २ सय ८ को उच्च अंक हासिल गर्दा त्यो दिन बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको थियो । यो नेपालको कुल ग्राहर्स्थ उत्पादनको शतप्रतिशत भन्दा धेरै हो । नेपालको पुँजीबजारले कुल ग्राहर्स्थ उत्पादनलाई उछिनेको समेत यो नै पहिलोपटक हो । 

    त्यस्तै, १८ खर्ब ८५ अर्ब बराबरको कारोबार पनि यो वर्षको सर्वाधिक हो । त्यस्तै, गत साउन ३१ गते शेयर बजारमा एकैदिन २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । यो पनि अहिलेसम्मकै सर्वाधिक कारोबार रकम हो । यो वर्ष दोस्रो बजारमा आवद्ध लगानीकर्ताको संख्या ९ दाख भन्दा माथि पुगेको छ । यो पनि गुणात्मक परिवर्तन हो ।


    images
    images

    Logo