काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले १५ दिनमा १ सय २ फरार अभियुक्तलाई पक्राउ गरेको छ । अदालतबाट कैद सजाय पाएर फरार रहेका यस्ता अभियुक्तलाई प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि पठाएको हो ।
बुधबार मात्रै २ वर्षअघि अदालतबाट सजाय सुनाइएका एकजना अभियुक्तलाई पक्राउ गरिएको छ । २०७६ असार २७ गते २ बर्ष १० महिना कैद र २२ हजार रुपैयाँ जरिवाना तोकिएका ती व्यक्ति सोही समयदेखि फरार थिए ।
इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नम्बर १० बाट निजलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि नवलपरासी जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले आदेश बमोजिम सजाय भुक्तान गर्न आदेश दिएपछि उनलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।