काठमाडौं । शेयर बजारमा आज सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्सेमा आज ५.५१ अंकको सामान्य वृद्धि भएको हो । योसँगै बजार परिसूचक २ हजार ५ सय २४ दशमलव ५० विन्दुमा पुगेको छ ।
आज बजारमा नेपाल बंगलादेश बैंकको शेयर कारोबार हाबी भयो । नबिल बैंकसँग मर्जरको अन्तिम तयारीको हल्लापछि सो बैंकको शेयर ९.०८ प्रतिशतले बढेको छ । यो वृद्धिबाट सो बैंकको बजार पुँजीकरण ३ अर्ब ३७ करोड रुपैयाँले बढेको छ ।
आजको बजार वृद्धिबाट बजारको सम्पत्ति ७ अर्ब ७८ करोडले बढेको छ । यसमध्ये बंगलादेश बैंकको पुँजीकरण वृद्धिले बजारको झन्डै ४३ प्रतिशत हिस्सा ओगटेको देखिन्छ । आज कारोबारका आधारमा पनि यो बैंक नै बजारमा हावी भएको देखिन्छ । सो बैंकको ५ लाख २५ हजार कित्ता भन्दा बढीको शेयर कारोबार भएको देखिन्छ ।
आजको बजारमा ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भयो । अजारमा अन्य समूहको उतारचढाव सामान्य रहँदा निर्जीवन बीमा कम्पनीको परिसूचकमा आज २ प्रतिशत भन्दा धेरैको वृद्धि देखियो । प्रिमियर र राष्ट्रिय बीमा कम्पनीको मूल्य बढ्दा यो क्षेत्रमा सकारात्मक प्रभाव परेको हो । यी दुई कम्पनीको मूल्य पनि आज ५ प्रतिशत भन्दा धेरैले बढेको छ ।



