काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले तारागाउँ रिजेन्सी होटलले गैरकानूनी रुपमा लिजमा लिएको १ सय १८ रोपनी जग्गा फिर्ता ल्याउने बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पर्यटनमन्त्री आलेले यस्तो घोषणा गरेका हुन् ।
समितिले तारागाउँ रिजेन्सीको जग्गा फिर्ता ल्याउने सम्बन्धमा पटक पटक निर्देशन दिए पनि लागु नभएपछि आलेलाई बोलाएर छलफल गरेको थियो । छलफलमा आलेले यसअघि दिएको निर्देशनको बारेमा आफूलाई थाहा नभएको भन्दै अब यसलाई फिर्ता ल्याएरै छोड्ने बताएका हुन् ।
‘विगतको के हो मलाइ थाहा छैन । म हुबहु लागु हुनेगरी काम गर्दैछु । तारागाउँ रिजेन्सीको १ सय १८ रोपनी जग्गा आफ्नो नाममा राखिएको छ, जबकी यो राख्नै पाइँदैन,’ उनले भने, सचिवज्यू यहीँ हुनुहुन्छ, हामी यसलाई हुबहु लागु गराउने र यो जग्गालाई फिर्ता ल्याउने कुरामा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
अहिले तारागाउँ रिजेन्सी होटलको नाममा १ सय ५० रोपनी सरकारी जग्गा छ । त्यस्तै, १ सय ४८ रोपनी जग्गा गैरकानुनी रुपमा ४९ वर्षको लागि भन्दै लिजमा लिइएको छ । अहिले यो होटलमा तारागाउँ विकास समितिको शेयर हिस्सा १० प्रतिशत भन्दा कम मात्रै छ । कम्पनी निजीकरणसँगै यो जग्गा पनि निजी सरह भइसकेको छ ।



