बझाङ । सुदूरपश्चिमकै आकर्षक बझाङको साइपाल हिमाल पहिलोपटक आरोहण असफल भएको थियो । हिमालसँग मानव सम्बन्ध जोडिएको ७० वर्षसम्म पनि साइपाल हिमाल (७०३१ मिटरं)को अझै सफल आरोहण हुन सकेको छैन ।
साइपाल आरोहणका लागि अघिल्लोपटकका आरोहीसहित ३७ जनाको टोलीले प्रयास गरे पनि असफल भएका थिए ।पर्वतारोही पूर्वी क्षेत्रमा मात्र केन्द्रित भएको भन्दै पर्यटन व्यवसायीले २०७५ सालमा साइपाल हिमालको आरोहणका लागि पहल गरेका थिए ।
कात्तिकमा आरोहण हुने गरी तीन आरोहण दलबाट २० आरोहीले पर्यटन विभागबाट अनुमति लिएका थिए । शेर्पा हिमालय अण्डर कम्पनीबाट आरोहणमा गएका चार शेर्पा र दुई जना स्पेनका आरोही ५ हजार ५ सय मिटरसम्म पुगेर फर्केको शेर्पा पथ प्रदर्शक पेछुम्बे शेर्पाले बताए ।
उनले भने, “प्राविधिकरुपमा कठिन हिमाल रहेछ त्यसैले हाम्रो तयारी कम भएर फिर्ता हुन बाध्य भयौँ ।” आरोही सक्षम हुने भए आरोहण सफल हुने उनको विश्वास छ ।
शेर्पा गाइडले १ हजार २ सय मिटर डोरी टाँगेर सो समिट सम्म बाटो बनाए पनि स्थानीय ४ महिला र अन्य आरोहीले जान नसक्ने भनेपछि पहिलो आरोहण सफल नभएको शेर्पाले बताए।
सक्षम आरोहीको समूहले अल्पाइन आरोहण (डोरीबिना चड्ने) गर्ने हो भने आरोहण सफल हुने गाइडले अनुभव गरेका छन् । पश्चिम क्षेत्रमा १ सय बढी हिमाल पहिचान गरी आरोहणका लागि खुला गरिए पनि अझै आरोहण हुन सकेको छैन ।
त्यसैले आरोहण हुन नसकेका हिमालको आरोहण सफल बनाउन पर्यटन विभागले सहयोग गर्नुपर्ने पर्यटन व्यवसायीको माग छ ।
विभागले आरोहण हुन नसकेका हिमालको आधार शिविरसम्म पुग्ने बाटो, भौतिक संरचना निर्माण र प्रचारप्रसार गरी आरोहीलाई आकर्षित गर्नुपर्ने साइपाल हिमाल आरोहण दलका बेसक्याम्प मेनेजर भोजराज भट्टको भनाइ छ ।
सरकारले पश्चिम क्षेत्रमा पर्यटन विकास गर्ने लक्ष्यसाथ २० वर्षसम्म त्यस क्षेत्रका हिमाल आरोहणमा रोयल्टी निःशुल्क गरे पनि आरोहण हुन सकेको थिएन । केही वर्षदेखि पर्यटन विभागले रोयल्टी लिन सुरु गरेको पर्यटन विभागले जानकारी दिएको छ ।
सुदूरपश्चिमका हिमालबाट विभागले २०७५ सालसम्मको तथ्याङ्कमा ४ लाख ८१ हजार राजस्व सङ्कलन गरेको छ । सरकारले पहिचान गरी आरोहणका लागि खुला गरेका ४ सय ३ हिमालमध्ये मुख्य आकर्षक हिमालमा साइपाल पर्ने साइपाल हिमाल आरोहण गर्न गएका आरोहीको भनाइ छ ।
पश्चिम क्षेत्रमा करिब डेढ सय हिमाल छन् तर आरोहण हुन नसकेको भन्दै यसका लागि तीनै तहका सरकारले विशेष प्याकेज नै ल्याएर आरोहण विस्तार गर्नुपर्ने उनको सुझाव छ ।
स्थानीयवासीले सुदूरपश्चिममै पहिलो आरोहण हुन लागेको भन्दै पछिल्लो पटक गएका पर्वतारोहीलाई बझाङको सदरमुकाम चैनपुरमा स्वागत गरेका थिए ।
आरोहण दलका सदस्य र स्थानीय सहित ३७ को टोली आधार शिविरतर्फ गएको थियो । आरोहण दलमा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढिसकेका आरोही डा जर्ज र एडुर्ने पासावन रहेका थिए ।



