images
images

उद्योग संगठन मोरङको बिजनेस क्लिनिक कार्यान्वयनमा


  • 413
    SHARES
  • २०७८ पौष १३ गते मंगलबार

    उद्योग संगठन मोरङको बिजनेस क्लिनिक कार्यान्वयनमा

    विराटनगर । उद्योग संगठन मोरङले उद्योग व्यवसायका समस्याहरुको समाधान गर्ने सेवाको रुपमा सीआईएम बिजनेस क्लिनिक कार्यान्वयनमा आएको छ ।

    गत साता काठमाडौमा संगठनको प्रतिनिधिमण्डलले  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेल र मन्त्रालयको टिम समक्ष बिजनेस क्लिनिकमा हालसम्म संकलन गरिएका सदस्य उद्योग प्रतिष्ठानहरुका १ सय ४ वटा विभिन्न क्षेत्र तथा विषयसँग सम्बन्धित समस्याहरु प्रस्तुत गरेसँगै क्लिनिक कार्यान्वयनमा आएको हो ।

    क्लिनिकमा संकलित सदस्य उद्योग प्रतिष्ठानहरु समस्या समाधानको सहजीकरणका लागि उद्योग मन्त्रालयमा सम्पर्क समन्वय विन्दु तोक्नुका साथै हरेक तीन/तीन महिनामा संगठन र मन्त्रालयबीच सहजीकरण बैठक तथा समीक्षा बैठक गर्ने समझदारी भएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए । 

    संगठनले सदस्य उद्योग प्रतिष्ठानका समस्याहरु संकलन गर्न सदस्य प्रतिष्ठानमा प्रत्यक्ष भ्रमण गर्न उद्योग भ्रमण कार्यक्रम नै सञ्चालन गरिरहेको छ । संगठनले यसरी संकलित समस्याहरुलाई उद्योग विशेष वा साझा समस्या तथा उर्जा, कर, राजश्व, श्रम, भन्सार, निर्यात आयात, बैंक तथा वित्तीय क्षेत्र, स्थानीय सरकार जस्ता विषयहरुमा वर्गीकरण गदै आएको छ । साथै यस्ता समस्या नीतिगत तहको हो कि कार्यान्वयन तहको भन्ने समेत छुट्याइएको छ ।

    सोहि अनुरुपको समाधानका लागी सम्बन्धित निकायमा पहल र प्रयत्न गर्दै आएकोमा उद्योग मन्त्रालयमा फोकल विन्दु तोकिएसँगै अब उद्योगी व्यवसायीका समस्याको एकै स्थानबाट समाधानका लागि पहल र प्रयत्न गर्न सहज हुने अध्यक्ष प्याकुरेलले जानकारी दिए । 

    संगठनको बार्षिक रणनीतिक कार्ययोजना अनुरुप सदस्य उद्योग प्रतिष्ठानहरुको समस्या समाधानका लागी पैरवी गर्दै उद्योग व्यवसायलाई पूर्ण क्षमता सञ्चालन गर्न क्षमता अभिवृद्धिमा समेत सघाउने उद्देश्यले बिजनेस क्लिनिकको आवश्यकता महशुश गरि नमुना कार्यक्रमका रुपमा कार्यान्वयनमा ल्याइएको अध्यक्ष प्याकुरेलले बताए ।  

    संगठनले सञ्चालनमा ल्याएको बिजनेस क्लिनिकमा आन्तरिक र बाह्य गरि दुईवटा कम्पोनेन्ट रहेका छन् । आन्तरिक कम्पोनेन्ट अन्तर्गत सम्बन्धित उद्योग वा व्यवसायको आन्तरिक क्षमता जाँचपड्ताल (डायग्नोसिस) गर्न बिजनेस हेल्थ चेकअपको सेवा उपलब्ध रहेको छ ।

    बाह्य कम्पोनेन्ट अन्र्तरगत उद्योग व्यवसायका समस्याहरुको संकलन तथा पहिचानका लागि उद्योगहरुको भ्रमण  गर्ने, समस्याको वर्गीकरण गर्ने, नीति विश्लेषण तथा अनुसन्धान गर्ने र समाधानका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको फोकल विन्दु मार्फत सहजीकरण गर्ने जस्ता विषय समेटिएको संगठनका महानिर्देशक चुडामणि भट्टराईले बताए ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा संगठनका अन्य कार्यक्रमहरु क्रमशः सीप विकास कार्यक्रम, स्टार्टअप तथा इनोभेशन कार्यक्रम, औद्योगिक अध्ययन केन्द्र, नीतिगत बहस पैरवी फ्रेमवर्क, मेरो देश मेरै उत्पादन लगायतका कार्यक्रमहरुका बारेमा समेत प्रस्तुतीकरण गरिएको थियो ।

    कार्यक्रममा उद्योग मन्त्रालयका सचिव अर्जुन पोखरेलले संगठनले अघि सारेका सबै कार्यक्रमहरु सरकारको प्राथमिकता तथा मन्त्रालयको कार्यक्षेत्र भित्रै पर्ने भएकोले सहकार्य गरी काम गर्न तत्पर रहेको उल्लेख गरे ।

    यसैगरी, संगठनले बिजनेस क्लिनिकका सम्बन्धमा संघीय सरकारका अर्थ सचिव समक्ष गत असोज १५ गते बैठक गरि क्लिनिकको शुभारम्भ गरेको थियो भने क्रमशः प्रदेश र स्थानीय सरकारहरुसँग समेत आर्थिक तथा औद्योगिक विकासका महत्वपूर्ण आयामका रुपमा रहेका कार्यक्रमहरुको दिगो एवं सफलतापूर्वक कार्यान्वयन गर्न सहकार्य गर्दै क्लिनिक सञ्चालन गरिने संगठनले जनाएको छ ।

    उद्योग मन्त्रालयको कार्यक्रममा सहसचिव, विभागीय प्रमुख तथा सम्बन्धित शाखा प्रमुखहरुको सहभागिता रहेको थियो भने संगठनबाट वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका, उपाध्यक्षद्वय राजकुमार गोल्छा, नन्द किशोर राठी, कार्यसमिति सदस्य सुशील रिजाल तथा अध्यक्षीय सल्लाहकार सोम अधिकारीको सहभागिता रहेको थियो । 


    images
    images

    Logo