images
images

राजमार्गभन्दा भित्री सडक बढी जोखिमपूर्ण


  • 314
    SHARES
  • २०७८ पौष १३ गते मंगलबार

    राजमार्गभन्दा भित्री  सडक बढी जोखिमपूर्ण

    काठमाडौं । जिल्लाका भित्री सडकमा सवारी दुर्घटनाको जोखिम बढी हुने गरेको छ । पछिल्ला केही वर्षको तथ्याङ्क हेर्ने हो भने मुख्य राजमार्गभन्दा भित्री सडक बढी जोखिम हुने गरेको पाइन्छ ।

    चालु आर्थिक वर्ष २०७८र७९ को मङ्सिरसम्म सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको छ । २५ जनाको भित्री सडकमा भएको सवारी दुर्घटनामा ज्यान गएको हो । यही अवधिमा जिल्लाभर २ सय २४ वटा सवारी दुर्घटना भएका छन् । यीमध्ये भित्री सडकमा मात्रै १ सय २ वटा सवारी दुर्घटना भएका छन् । यही अवधिमा जिल्लाभर सवारी दुर्घटनामा ३ सय ८३ घाइते भएका छन् । उनीहरूमध्ये १ सय ६८ जना भित्री सडकमा भएको सवारी दुर्घटनामा घाइते भएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको यस तथ्याङ्कले भित्री सडकमा दुर्घटनाको अवस्था जोखिमपूर्ण रहेको देखिन्छ ।

    भित्री सडकबाहेक पूर्व–पश्चिम लोकमार्गमा चालु आर्थिक वर्षको पाँच महिनामा सवारी दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने ९० घाइते भएका छन् । यो अवधिमा उक्त सडकखण्डमा ४९ वटा सवारी दुर्घटना भएका थिए । यही अवधिमा नारायणगढ–मुग्लिन सडकमा ४१ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ८३ जना घाइते भएका छन् । 

    पृथ्वी राजमार्गमा १२ सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । सहरी सडकखण्डमा २० वटा सवारी दुर्घटना भएका छन् । जसमा तीन जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । आर्थिक वर्ष २०७३र७४ मा भित्री सडक दुर्घटनामा ३० जनाको मृत्यु तथा २ सय ५८ घाइते, २०७४र७५ मा ४३ जनाको मृत्यु तथा २ सय ७१ जना घाइते भएका थिए । २०७५र७६ मा ४२ जनाको मृत्यु तथा २ सय ९५ जना घाइते र २०७६र७७ मा २९ जनाको मृत्यु तथा २ सय ६१ जना घाइते भएका थिए ।

    भित्री सडकमा लापरवाही तरिकाले सवारीसाधन चलाउने गर्दा दुर्घटना बढी हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले बताए । भित्री सडकमा ट्राफिक प्रहरीको पहुँच कम हुने र यही कारण लापरवाही तरिकाले सवारीसाधन चलाउँदा दुर्घटना निम्तिने उनको भनाइ छ ।

    ट्राफिक प्रहरीको उपस्थिति कम हुने भएकाले भित्री सडकमा मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना बढी हुने गरेको उनले बताए । भित्री सडक साँघुरा र बिग्रिएका कारण पनि ती सडकमा दुर्घटना बढी भएको कार्यालयले जनाएको छ ।  सडकमा खाल्डाखुल्डी, छरपस्ट राखिने निर्माण सामग्रीले दुर्घटना बढाउने गरेको थापाले बताए ।


    images
    images

    Logo