काठमाडौं । बजेट अभावमा स्तरोन्नति हुन नसकेका सुदूरपश्चिमका नौ वटै जिल्लाका विमानस्थलका लागि अर्बौं बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिमका कैलालीको गेटा, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर र कमलबजार, बझाङ, बाजुरा, डडेल्धुरा तथा डोटीको दिपायल विमानस्थलका लागि बजेट विनियोजन गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा गेटा विमानस्थलका लागि १ अर्ब रुपैयाँ अछामको साँफेबगर र कमलबजार विमानस्थलका लागि ६ करोड रुपैयाँ कञ्चनपुरको मझगाउँ विमानस्थलका लागि २ करोड ५१ लाख ३२ हजार ७ सय ४३.३६, बैतडीको पाटन विमानस्थलका लागि १ करोड ५० लाख ४४ हजार २ सय ४७.७८, दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि २ करोड ६५ लाख ४८ हजार ६ सय ७२.५६, बझाङ विमानस्थलका लागि १२ लाख ९९ हजार २ सय रुपैयाँ, बाजुरा विमानस्थलका लागि १८ लाख ७६ हजार ३ सय रुपैयाँ डडेल्धुरा विमानस्थल सम्भाव्यता अध्यनका लागि ५० लाख तथा डोटी विमानस्थलको २ सय ५० मिटर धावनमार्ग थप गर्न, टर्मिनल टावर निर्माण र जग्गा अधिग्रहणका लागि १८ करोड ६१ लाख ४७ हजार १ सय रुपैयाँ विनियोजन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।
सुदूरपश्चिमका साना विमानस्थलको स्तरोन्नतिदेखि कैलालीको गेटामा रहेको विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन २ सय ५० बिघा जमिन अधिग्रहण तथा दुई हजार ५ सय मिटर धावनमार्गका लागि बजेट विनियोजन गरिएपछि यहाँका नागरिकमा खुशियाली छाएको दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बजेट विनियोजन गरेसँगै अब यहाँका सबै विमानस्थलमा काम सुरु गरिने धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए । उनले भने, “बजेट विनियोजन भइसकेको छ, अब छिट्टै काम सुरु हुनेछ ।”



