जनकपुर । नेपाली काँग्रेसको प्रदेश नं २ को सभापतिमा कृष्ण प्रसाद यादव निर्वाचित भएका छन् । आज बिहान सम्पन्न सभापति पदको मतगणनाअनुसार यादवले ९ सय ९६ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी रामसरोज यादवले ८ सय ५५ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
सभापति पदमा खसेको मतमध्ये ३० मत बदर भएको जनाइएको छ । प्रदेश सभापतिमा निर्वाचित कृष्णा नेपाली कांग्रेस रौतहटका सभापति हुन् । रामसरोज कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुन् ।
उपसभापतिलगायत अन्य पदको मतगणना भइरहेको र आज साँझसम्म अधिकांश पदको मतगणना सकिने निर्वाचन समिति संयोजक प्रह्लाद गौतमले जानकारी दिए । ६७ पदका लागि बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा कूल १ हजार ९ सय ५१ मतदातामध्ये १ हजार ८ सय ८१ मत खसेको थियो ।
नवनिर्वाचित सभापति यादव शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् ।



